मकवानपुरमा गर्भपतन गराउने बढ्दै, सरकारीभन्दा निजीमै रुचि

मन्जिता मैनाली

हेटौंडा– पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुँदै गएको छ। सरकारी अस्पतालमा पनि गर्भपतन सेवा दिइरहिएको भएता पनि निजीमा गर्भपतन गराउनेको संख्या निकै नै बढी देखिन्छ ।

Advertisement:

हेटौंडा अस्पतालको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा मात्र १ सय १६ जनाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्ष मुनिका ३ जना रहेका छन् ।
गत आर्थिक वर्षको तथ्यांकमा २ सय ७६ ले सुरक्षित गर्भपतन गराएका मध्ये ७ जना २० वर्ष मुनिका थिए । हेटौंडामा रहेको गर्भपतनका लागि सरकारी मान्यता प्राप्त पोलिक्लिनिक सुनौलो पोलिक्लिनिक प्रा.लि. मा गर्भपतन गराउने बढ्दो देखिएको छ । हेटौंडा अस्पतालमा गर्भपतन निःशुल्क भएता पनि महङ्गो शुल्क तिरेर निजीमै गर्भपतन गराउनेको संख्या तेब्बर नै बढी देखिन्छ ।

निजि पोलिक्लिनिक सुनौलो पोलिक्लिनिकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामै ३ सय ९० जनाले गर्भपतन गराएका छन् भने गत आर्थिक वर्षमा ८ सय जनाले गर्भपतन गराएका थिए। यो तथ्यांक हेर्दा निजिमा गर्भपतन गराउने संख्या सरकारी अस्पतालमा भन्दा निक्कै बढी देखिन्छ । हेटौंडा अस्पतालमा गर्भपतन निःशुल्क हुन्छ भने सुनौलो पोलिक्लिनिकमा सुरक्षित गर्भपतन सेवा प्याकेज भनेर ४ हजार लाग्छ भने सुरक्षित गर्भपतन सेवा औषधि सेवनबाट २ हजार लाग्ने गर्छ । हेटौंडा अस्पतालमा निशुल्क गर्भपतन हुने भएतापनि निजीमै महँगो शुल्क तिरेर महिलाहरु गर्भपतन गराउन जाने गर्दछन् ।
पछिल्लो समय गोपनियता भङ्ग हुने डरले जुनसुकै आफूलई पायक पर्ने मेडिकलबाट औषधि मार्फत गर्भपतन गर्ने गरेको र यसले महिलाहरुको स्वास्थ्यमा उच्च जोखिम बढेको समेत देखिन्छ ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर विदुर भण्डारीका अनुसार गर्भ रहे नरहेको आफैँ जाँच गरी औषधि सेवन गर्दा अपूर्ण गर्भपतन गर्दा समस्या हुने गर्छ । भिडियो एक्सरे नगरी गर्भपतन गराउँदा बच्चा ठूलो भएको अवस्थामा पाठेघर नै फुट्ने समेत उच्च जोखिम रहन्छ । नियम विपरित निजी मेडिकलबाट समेत औषधि किन्ने, औषधि खाएर गर्भपतन गर्ने र औषधि असरले उच्च रक्तस्राव हुँदै पछि गएर जटिल समस्या लिएर अस्पतालमा आउने गरेको उनको भनाइ छ ।

अन्य ठाउँमा असुरक्षित तरिकाले गर्भपतन गराउदा पाठेघरमा चोट लाग्ने,आन्द्रामा चोट लाग्ने हुनुको साथै महिलाको मृत्यु समेत हुन सक्ने जोखिम रहन्छ । गोपनियताको हिसाबले पनि बढिजसो निजी मेडिकलमै गर्भपतन गराउन जाने गरेको उनले बताए ।

नेपालमा कानुन अनुसार तालिम प्राप्त विशेषज्ञले मात्र गर्भपतन गराउन पाउने नियम भएता पनि पछिल्लो समय असुरक्षित गर्भपतन गराउने र गर्ने गरेको कारण धेरै महिलाहरुमा समस्या देखापर्ने गरेको उनले बताए । गर्भपतन गर्नै पर्ने अवस्थामा गर्भपतनका लागि सरकारी अस्पतालमा निःशुल्क र सुरक्षित गर्भपतन गर्ने हुँदा अस्पतालमै गर्भपतन गराउन डाक्टर भण्डारीले सुझाव समेत दिए ।

सुनौलो भविष्य नेपाल पोलिक्लिनिकका प्रबन्ध निर्देशक विजय श्रेष्ठको अनुसार निजी पोलिक्लिनिकमा गर्भपतन गराउने मध्ये ७० प्रतिशत औषधिबाट गर्भपतन गर्ने गरिएको छ । हेटौंडा अस्पतालकै विशेषज्ञ डाक्टरहरु मार्फत नै गर्भपतन गराउने गरेको उनले बताए । सरकारी अस्पतालमाको भन्दा सेवा सुविधा छिटोछरितो पाउनुको साथै गोपनियताको लागि पनि बढीजसो निजी पोलिक्लिनिक नै आउने गरेको उनको भनाइ छ । क्लिनिकमा १० हप्ता सम्मको गर्भपतन औषधिबाटै गर्ने गरेको श्रेष्ठले बताए ।

नेपालमा सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानुनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :