बागमती प्रदेशले सुरु गर्‍याे भ्रमण वर्ष–२०२४

हेटौंडा– बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष– २०२४ सुरु गरेको छ । पत्रकार र मन्त्रालयका कर्मचारीहरुबीच बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सोमबार भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन् ।
सन् २०२४ को पहिलो दिन सोमबार मन्त्री महर्जनले प्रदेशका केही पर्यटकीय स्थलहरुको दृश्य समेटिएको भिडियो सामाग्री देखाउँदै भ्रमण वर्ष २०२४ को औपचारिक शुभारम्भको घोषणा गरेका हुन् । सोही बीचमा एक शुभकामना सन्देश दिँदै मन्त्री महर्जनले बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्देश्यले भ्रमण वर्षको शुभारम्भ गरेको बताए ।

विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मुल उद्देश्य भएको मन्त्री महर्जनले बताए । विगतमा कोभिड १९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूनः जीवन्त र गतिशिल बनाउन प्रदेश भ्रमण वर्ष कार्यान्वयनबाट सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ । ‘भ्रमण बर्षले आनन्द, आतिथ्यता र एकताको साथै कला, संस्कृति, रहन सहन, परम्पराको संरक्षण, सम्वद्र्धन र पर्यटकीयस्थल र सम्भावनाको पहिचान, प्रचार–प्रसार र विकासमा योगदान पुर्‍याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोगी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ मन्त्री महर्जनले शुभकामना वक्तव्यमा भनेका छन् ।

Advertisement:

भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । भ्रमण वर्ष सफल बनाउन श्रव्य दृश्य सामाग्री उत्पादन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामाग्री उत्प्दन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application