ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रचण्ड

pm-prachand-tamu-lohsar

तातोखबर, काठमाडौँ: प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग पुगेको बताए ।

उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको उनको भनाइ थियो ।

Advertisement:pm-prachand-tamu-lohsar

प्रधानमन्त्रीले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औल्याए ।

नेपालसहित चीन, मङ्गोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइने तर ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिने उनको कथन छ ।

“नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ”, प्रधानमन्त्रीले भने , “संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।”

यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको उल्लेख गर्दै उनले नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व मनाउने गरिएको बताए ।

“विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ”, प्रधानमन्त्रीले भने, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो ।”

यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन हामी सबैमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ तमु जातिलगायतमा प्रधानमन्त्रीले शुभकामनासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application