बाइडेन र सी चिनफिङबीच भेट : दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका पुगेका राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन्।
भेटपछि पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
अमेरिका र चीनबीच ताइवान विवाद, दक्षिण चीन सागरमा सेनाको गतिविधि, इसराइल-हमास युद्ध, युक्रेन युद्ध तथा अमेरिकी चुनावमा चीनले हस्तक्षेप गरेको जस्ता विभिन्न विवाद छ।
दुई देशका राष्ट्रपतिको भेटवार्ताबाट दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन गरिएको छ।
राष्ट्रपति बाइडेनले पनि दुई शक्तिशाली देशबीचको सम्बन्धमा भविष्यमा आउन सक्ने विवाद संवादमार्फत समाधान गर्न दुबैजना सकारात्मक रहेको बताएका छन्।
भेटमा रूस-युक्रेन युद्ध र इसराइल-हमास युद्धका बारेमा दुई राष्ट्रपतिले छलफल गरेको बताइएको छ। छलफलमा राष्ट्रपति बाइडेनले अमेरिका इसराइलको पक्षमा रहेको बताएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
गजाको अल-सिफा अस्पतालमा इसराइली सेना प्रवेश गरेको विषयमा पनि बाइडेनले इसराइलको पक्षमा अभिव्यक्ति दिएका छन्।
‘हमासले अस्पताललाई आफ्नो मुख्यालय बनाएको हुनसक्छ जहाँ हतियार र युद्धका लागि सामग्री राखिएको शंका छ,’ बाइडेनको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
भेटपछि बाइडेनले चीनका राष्ट्रपति सीलाई पुनः ‘तानाशाह’को संज्ञा दिएका छन्।
गत जुनमा बाइडेनले सीलाई तानाशाहको संज्ञा दिएका थिए।
भेटपछि अघल्लो अभिव्यक्तिबारे पत्रकारहरूले बाइडेनलाई सोधेका थिए। जवाफमा बाइडेनले सी तानाशाह नै रहेको दोहोर्याएका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस