NTC App - Ad

छठ पर्व नजिकिँदै गएपछि जनकपुरधाममा भब्य तयारी

धनुषा। दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा. राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामको गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको हो ।

Advertisement:

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस चाडका लागि आवश्यक पर्ने सामानको किनमेल गर्नेको बजारमा भीड बढेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगिदेखि नै सुरु हुने गर्छ ।

छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन भनेर विश्वास गरिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने  गर्दछन । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्दछन । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड निकै लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको छ । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता निरज आवाले जानकारी दिए । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनले बताएका छन् ।

चार दिनसम्म मनाइने यो पर्वमा बर्तालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने चलन छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको पाईन्छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको विश्वास छ । भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ त्यसैले सुर्य देवताको पुजा हुने जानकारहरु बताउछन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :