कोशी प्रदेश: विना विभागीयमन्त्री राम रानाले दिए राजीनामा



मोरङ- कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री राम राना मगरले राजीनामा दिएका छन्।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका उपनेतासमेत रहेका रानाले शनिबार राजीनामा दिएका हुन्।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सरकारमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई समावेश गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो।

गत असोज २७ गतेबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मगरले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएका हुन्।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन फिर्तासँगै विना विभागीय मन्त्रीले राजीनामा दिएको बताए।

उनले भने, ‘हामी माओवादीसहित गठन भएको सरकारमा रहेका छैनौं। यसर्थमा उहाँले राजीनामा दिनु भएको हो। यो हाम्रो चाहना भने होइन।’

प्रदेशमा सहज ढंगबाट सरकार अघि बढाउन एमालेले कांग्रेसलाई साथ दिएको बताउँदै भण्डारीले भने, ‘यो हाम्रो चाहना होइन। कांग्रेसले हाम्रो समर्थनको मूल्यांकन गर्न सकेन। अब मध्यावधि नै फेस गर्नुपर्ने देखिएको छ। त्यसका लागि हामी तयार रहेका छौं। उहाँहरूले चाहेको यही रहेछ।’

९३ प्रदेशसभा सदस्य रहेको प्रदेशमा नेकपा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४, राप्रपा ६ र जसपाको १ प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेश सरकारका लागि ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक रहन्छ। एमाले हालको अवस्थामा बाहिरिएको खण्डमा मुख्यमन्त्री कार्कीलाई सत्ता अघि बढाउन सकस हुने देखिएको छ।

अर्कोतर्फ, राप्रपाले यसअघि नै प्रतिपक्षमा रहने जनाएको छ। जसपाले केहीदिन अघि सरकारलाई समर्थन दिए पनि सरकारमा नजाने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको