देश र जनताको हितलाई केन्द्रमा राखेर काम पूर्व प्रम डा.भट्टराईको आग्रह

चितवन, २९ असोज / देश जनताको हितलाई केन्द्रमा राखेर काम गर्न देशका राजनेताहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आग्रह गरेका छन् । पारिवारिक भेटघाटका लागि चितवन आएका पूर्व प्रम डा. भट्टराईले भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको भने पनि जनताले त्यस्तो अनुभूति गर्न नपाएको उनको भनाई थियो । पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको उनले औंल्याए । डा. भट्टराईले देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको प्रष्ट्याए ।

Advertisement:

दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको दावी गर्दै यस्तो स्थितिले यसले लोकतन्त्रको हित नहुने पूर्व प्रम डा. भट्टराईले किटान गरे । उनले भने ‘हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत दिदैन ।’ दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्ने नत्र निर्वाचन प्रणाली बदल्नु पर्ने धारणा अगाडि सारे ।

अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको बताउदै उनले भने “गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।” अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । देशलाई तीव्र औद्योगिक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application