आलुको उत्पादन वृद्धि
ताप्लेजुङ, २३ असोज / ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ ।
फक्ताङलुङ गाउँपालिका-६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेका थिए । गत साता आलु खन्दा २० मुरी आलु संकलन गर्नुभयो । सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकामा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीका रूपमा आलुखेती गर्दै आएका छन् ।
वितगका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताउनुभयो । आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताउनुभयो । तर गत वर्षभन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ छ ।
आलुको व्यापार
याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मङ्सिरको तोस्रो सातादेखि कृषकले याङमाबाट दुई दिन याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ । आलु बीउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकैलागयतका अन्न बोकेर दुई–चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।
गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले बताउनुभयो । विगतका वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।
पचपन्न हजार मेट्रिक टन बढी आलु उत्पादन
ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा किसानले ५५ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्न सफल भएका हुन् । अघिल्लो आवको तुलनामा गत वर्ष यहाँ आलु उत्पादन वृद्धि भएको कृषि केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७८÷७९ मा ५५ हजार एक सय ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादनका लागि चार हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा किसानले खेती लगाएका थिए । केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२ दशमलव ९५ मेट्रिक टन रहेको छ । जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाणमात्र जिल्ला बाहिर निर्यात हुने गरेको किसानले बताएका छन् ।
यता जिल्लामा स्थानीय आलुको औसत मूल्य प्रतिकिलो रु ४५ मा खरिद बिक्री हुँदै आएको छ । उक्त मूल्यअनुसार साढे दुई अर्ब रुपैयाँ बराबरको उत्पादन भएको पाइएको छ । स्थानीय प्रजातिका आलुको माग र मूल्य राम्रो भएकाले आलु उत्पादन गरेर किसानले मनग्य आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरको भनाइ छ । गएको वर्ष यहाँका किसानले लगाएको आलुखेतीबाट कुल ५५ हजार दुई सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
२.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
३.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
४.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
५.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार