अरनिको राजमार्ग विस्तार : दसैँ-तिहारपछि मात्रै काम सुरु गर्न माग



काभ्रेपलाञ्चोक, १ असोज / अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजना अन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको हो । अरनिको राजमार्ग विस्तारबाट व्यावसायिक प्रभावसम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन् ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंले दसैँ तिहारपछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न सुझाव दिनुभयो । “तिहारपछि काम सुरु गरेर धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न माग गदैछौँ”, उहाँले भन्नुभयो । चाडपर्वको मुखैमा राजमार्ग विस्तारकै कारण व्यवसायी पलायन हुन नदिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै सङ्घका महासचिव रवीन्द्र वैदारले आर्थिक मन्दीका कारण यस वर्ष व्यवसायी मारमा परेकाले चाडपर्वको समयमा व्यवसायीलाई नलखेट्न सुझाव दिनुभयो । उहाँले देशकै व्यापारिक सहरको परिचय बनाएको बनेपालाई जोगाउन सरोकरवालाको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । उहाँले राजमार्ग विस्तारसँगै ‘लोड-अनलोड’ को समस्या प्रमुख रुपमा देखिने भएकाले आवश्यक भौतिक पूर्वाधारसहित उचित विकल्पबारे सोच्न आवश्यक रहेको बताउनुभयो । राजमार्ग विस्तारका क्रममा ढलको उचित प्रबन्ध गर्न, आकाशेपुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न उद्योगी व्यवसायीले सरोकारवालालाई आग्रह गरेका हुन् ।

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो । राजमार्गअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमि विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु गरिएको हो ।

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले पटक-पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा व्यावहारिकतालाई पनि ध्यान दिन आयोजनासँग आग्रह गर्नुभयो । नगर उपप्रमुख विमला शर्माले नागरिकलाई आवतजावत, व्यापार-व्यवसाय गर्न असहज हुनेगरी काम गर्न नहुने तर्क राख्नुभयो । उहाँले करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने बताउनुभयो ।

यसैगरी सूर्यविनायक-धुलिखेल सडक आयोजनाका इञ्जिनीयर माधव पौडेलले आयोजनाबारे जानकारी गराउँदै विस्तारको काम १५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । उहाँले रुख कटान कार्य सुरु भएको, विद्युत् पोल हटाउन प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गर्दै कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, १६ असोज / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत विधेयक,

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार, असोज २८ गते