संसद सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन : सांसद शाह

काठमाडौं, २५ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।

रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । यसै विषयमा उनले भनेका छन्, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । समाचार एजेन्सिी राष्ट्रिय समाचार समितिको ‘सांसदसँग–रासस’ संवादसँग कुरा गर्दै सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष नभएको बताए ।

Advertisement:

‘सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद शाह भन्छन्, ‘हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद अवरोध भयो । बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ ।’ आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ ।

संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उनी बताउछन् । यसबारे संसद्मा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको सांसद शाहको गुनासो छ । संसद्मा क्यालेण्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको आरोप छ ।
अर्काेतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको शाहको बुझाइ छ । ‘सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाएँ । मैले पूल बनाएँ, बाटो बनाएँ भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन् । अर्काे पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ’, सांसद शाह भन्छन्, ‘सामान्य हिसाबले हेर्दा एउटा नगर प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन् । त्यहि भनेर भोट मागिरहेको अवस्था छ ।’
सांसदहरुको भूमिका के हो ? भनेर सांसदहरुलाई बुझाउन जरुरी रहेको शाहको तर्क छ । त्यस्तै नागरिकस्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने पनि उनी बताउछन् । सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उनले टिप्पणी गरेका छन् ।
‘सांसदका रुपमा मुख्य काम कानुन निर्माण गर्ने हो । जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानून निर्माणमा सशक्तरुपमा लागि पर्ने हो । तर जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडक जस्ता पूर्वाधार बनाउने भन्ने संस्कारको विकास भयो’, सांसद शाह भन्छन्, ‘विकास निर्माणका लागि सांसदहरु एक माध्यम बन्न सक्छन् । तर हामी आफैँ ठेकेदार हैनौ । यो बुझ्न जरुरी छ ।’

लामो समय संसदीय अभ्यासमा लागेका दलका नेताले संसदीय मर्यादा उल्लङ्घन हुने गरी अभिव्यक्ति राख्ने गरेकामा शाहलाई त्यो कत्ति पनि चित्त बुझेको छैन । ‘सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ । जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो । त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ’, उनले भने ।

दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को सङ्ज्ञा दिदै सांसद शाह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद अल्झाउने गरेको बताउछन् । यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उनको भनाई छ ।

‘जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने हो त्यो हुँदैन । हामीले पटक–पटक डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन ग¥यौँ । जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ । तर अहिलेसम्म त्यो हुन सकेको छैन’, शाह भन्छन् ।

सत्तापक्ष र प्रतिपक्षले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उनको बुझाइ छ । सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उनीहरुले उपयुक्त वातावरण भने पाउन नसकेको उनी स्वीकार्छन् । अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको शाहको बुझाइ छ ।

‘हतारो कसैलाई रहेनछ । सरकारले आफ्नो तरिकाले चलाउने रहेछ । हतारो त जनतालाई मात्र रहेछ । ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ’ उनी भन्छन् । अझ कतिपय सांसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उनले बताए ।

‘हाम्रा लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ । अन्य दलका सांसदले धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छाँ’ै, उनी भन्छन्, ‘तर, धेरैजसो सांसद पूर्वतयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ । तथ्य–तथ्याङ्कमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ ।’ संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

सांसदका रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाह सदन नजितामुखी बन्न नसकेकामा दुःख लाग्ने बताउछन् । ‘ सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ, सबैले राम्रै कुरा गरिरहँदा पनि देशले लिनुपर्ने विकासको गति चाहिँ किन नलिएको होला ? यो सांसदहरुलाई पनि चासो र चिन्ताको विषय भएको छ ।
— रासस

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application