सहकारीपीडितलाई उजुरी गर्न प्रहरीको अपील

म्याग्दी, २४ भदौ / म्याग्दीमा एक सहकारी बन्द भएपछि उक्त सहकारीसँगको कारोवारबाट पीडित बन्न पुगेका सहकारी पीडितहरुलाई प्रहरीमा उजुरी गर्न प्रहरीले सार्वजनिक रुपमा अपील गरेको छ । म्याग्दीको बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बन्द भएपछि बनेका पीडितहरुलाई उजुरी गर्न प्रहरीले अपिल गरेको हो ।

एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी ६ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताए ।

Advertisement:

“सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौँ ।”

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु ६ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

बचतकर्ता सेयर सदस्यको करिब रु छ करोड ५० लाख सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application