पर्यटन कानूनको प्रभावकारिता प्रकाश पार्ने कार्यक्रम विस्तार गर्नु पर्नेमा जोड

काठमाडौं, ३ चैत्र/ नेपालको पर्यटन प्रवद्र्धन र विकासका लागि मुलुकमा रहेको कानूनी व्यवस्थालाई प्रभावकारी बनाउदै लैजानु पर्नेमा पर्यटन कानून विज्ञहरुले जोड दिन थालेका छन् । सार्वजनिक रुपमा पर्यटन कानूनसम्बन्धी विभिन्न सार्वजनिक कार्यक्रमहरुको आयोजना गर्दै पर्यटन कानून विज्ञहरुले यस्तो जोड दिन थालेका हुन् ।

टुरिजम लयर्स फोरम नेपालद्वारा पर्यटन कानूनसम्बन्धी एक अन्तर्कृया कार्यक्रम आयोजना गरी सरकार, सरोकारवाला र पर्यटनव्यवसायीहरुको ध्यानाकर्षण हुने गतिविधि सञ्चालन गरेको उक्त संस्थाका अध्यक्ष अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन् । सम्पन्न उक्त कार्यक्रमका विषयमा अध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार पर्यटन व्यवसायीहरुलाई अनुशासित, मर्यादित एवं व्यवस्थित बनाउने र सरकारलाई समेत समयसापेक्षित पर्यटन कानून निर्माण गर्न टेवा पुग्ने गरी सो अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको थियो ।

Advertisement:

सम्पन्न उक्त अन्तर्कृया कार्यक्रमको विषयमा थप जानकारी दिदै अधिबक्ता घनेन्द्रबहादुर श्रेष्ठले भनेका छन् ‘पर्यटन क्षेत्रमा रहेका कानूनको जानकारी गराउने र व्यवसायीहरुलाई कानूनी चेतनाको विकास गराउने योजनाबमोजिम टुरिजम लयर्स फोरम नेपालले एक पर्यटकीय गन्तव्य नगरकोटकोमा नाल्दुम नगरकोट पर्यटन विकास समितिको समेत सहयोगमा एक दिने अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको थियो । यस्ता अन्तर्कृयाको माध्यमद्वारा पर्यटनसम्बन्धी प्रचलित कानूनी व्यवस्थाको सन्दर्भमा चेतनामुलक कार्यहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्नलाई सहयोगी हुने कुराको अपेक्षाका साथ यो कार्यक्रमको आयोजना गरिएको थियो । जसमा सहभागीहरुबाट सकारात्मक प्रतिकृया पाईयो ।

टुरिजम लयर्स फोरम नेपालको अध्यक्ष अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहको प्रमुख आतिथ्यता र नाल्दुम नगरकोट पर्यटन विकास समितिको अध्यक्ष नविन गुरुङको आत्थियता रहेको जानकारी दिईएको छ । टुरिजम लयर्स फोरम नेपालका अध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठले पर्यटन क्षेत्रमा रहेका विभिन्न विदाहरु विषयमा चर्चा गरेपछि सो कार्यक्रमका प्रमुख अतिथि विनायक शाहले व्यवसायीहरुले ठुलो लगानी गरी पर्यटनक्षेत्रमा व्यवसाय गरिरहेको बताए । ‘पर्यटन व्यवसाय आफैमा व्यवस्थित र अनुशाशित व्यवसाय हो’ अध्यक्ष शाहले भने ‘पर्यटन व्यवसायमा व्यवसायीहरुले आफ्ना पर्यटक उपभोक्ताहरुलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराउन नसके व्यवसाय नै धरासायी हुन्छ । त्यसैले हरसमय व्यवसायीहरु पर्यटकहरुको सेवा सुविधाप्रति चनाखो हुनुपर्दछ ।’

कानूनका कतिपय प्रावधानहरुले व्यवसायीहरुलाई समस्या परेको र नियतवश कानूनविपरित कार्य नगरिएका र अञ्जानमा भएका गल्तिमा कारवाही गरिने र अनावश्यक प्रचारप्रसार गरेर व्यावसायिक संवेदनशिलतालाई ख्याल नगर्ने गरिएकोमा समेत अध्यक्ष शाहले चिन्ता व्यक्त गरे । यति हुदाहुदै पनि पर्यटन व्यवसायीहरुलाई यस्ता चेतनामुलक कार्य सम्पन्न गर्नलाई होटल संघ नेपाल निरन्तर सहयोगीको भुमिकामा रहने प्रतिबद्धता पनि होटल संघका अध्यक्ष विनायक शाहले व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरेले पर्यटनक्षेत्रमा दुस्कृतिसम्वन्धी कानूनको व्यापक प्रयोग हुने र कुनै गलत कार्य वा कानूनविपरितका कार्य गरेमा उपभोक्ताले भारी मात्रमा क्षतिपूर्तिको दावी गर्न सक्ने भएकोले व्यवसायीहरु चनाखो र अनुशासित हुन आवश्यक रहेको बताए । अन्तर्कृया कार्यक्रममा टुरिजम लयर्स फोरम नेपालको महासचिव तथा बागमती प्रदेशसभाका सदस्य जयराम थापा, वरिष्ठ अधिवक्ता विष्णु लुईटेल, वरिष्ठ अधिवक्ता धिर्जराज पोखरेल तथा नाल्दुम नगरकोट पर्यटन विकास समितिका सदस्यहरु तथा होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :