उत्पादन शक्ति प्रदर्शन गर्ने तयारीमा बागमती प्रदेश

हेटौंडा, १६ माघ/ बागमती प्रदेश उत्पादन शक्ति आर्जन गर्ने र यसको प्रदर्शन गर्ने तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । शहिद दिवसको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले कृषि उत्पादनका लागि नमूना परियोजनाको आधार तयार भईसकेको आमसञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन् ।

रिपोर्टसर्् क्लब मकवानपुर शाखाले शहिद दिवस २०८० को अवसरमा पारेर आयोजना गरेको अन्तर्कृया तथा पुरस्कार वितरण समारोहका प्रमूख अतिथिका रुपमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सहिदहरुको योगदान नेपालको इतिहासमा जहिले पनि स्मरणीय रहने बताए । कार्यक्रलाई सम्बोधन गर्ने क्रममा उनले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकार नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न गईरहेको जनाए ।

Advertisement:

त्यसैगरी सोही कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जनतालाई आर्थिक समृद्धि, विकासका पूर्वाधारबाट जोड्न प्रदेश सरकार नयाँ नीतिका साथ अगाडि बढेको बताउँदै पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्र्बद्धनको लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स् क्लब नेपालको मकवानपुर शाखाका अध्यक्ष बलराम पुडासैंनीको आध्यक्षतामा आयोजित उक्त समारोहमा विशेष अतिथिका रुपमा सहभागी रिपोर्टर्स् क्लब नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाले सहिदहरुले नेपालीहरुको स्वतन्त्रलाई दिएको योगदानलाई सबैले सम्मान गर्नु पर्ने बताए । उनले आमसञ्चार माध्यमले नेपालको राजनीतिक परिवर्तनमा खेल्दै आएको भूमिकालाई राज्यले गहन रुपमा लिनु पर्नेमा जोड दिए । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको कार्यक्रममा काठमाडौंबाट हवाई मार्गबाट आउँदा हवाईमार्गको दुरी छोटो भएपनि अन्य कारणले ३ घण्टाभन्दा बढी समय लागेको कठिनाईलाई लक्षित गर्दै प्रदेशको राजधानी हेटौंडामा नै एउटा एयरपोर्ट निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिए ।

सोही कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले जनही ८ हजार ८ सय ८८ रुपैया राशीको सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको थियो । पत्रकार द्वय शर्मा र न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले नगदसहित पुरस्कार हस्तान्तर गरेका थिए । उक्त कार्यक्रममा रिपोर्टर्स क्लब मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने, सामाजिक क्षेत्रमा योगदान पुर्याएको कदर स्वरुप एष्ट्रोनोभा फाउण्डेशनलाई सम्मान गरिनु साथै शहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

शहिद दिवस २०८० को अवसरमा आयोजित उक्त कार्यक्रममा पुरस्कृत पत्रकार नवराज न्यौपानेले आफुले प्राप्त गरेको नगद रकम शहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको स्वास्थ्य उपचारको लागि हस्तान्तरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राप्रपाका नेता सिताराम बर्तौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताव विष्ट, हालका महासचिव कृष्णसारु मगर, महासंघका जिल्ला उपाध्यक्ष धु्रव अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिपोर्टस् क्लब नेपाल मकवानपुरकी सचिव भावना रिजालले सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस् :