तातोखबर, काठमाडौँ / थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा गम्भिर घाइते ६ वर्षकी स्मारिका गौतमको उपचारका क्रममा सवा तीनबजे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । उक्त दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको थियो ।
उनीहरू सबै एकै परिवारका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम रहेका छन् ।
जीपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् । उक्त गाडीमा सवारमध्ये उनी एक मात्रै बाँच्न सफल भइन् ।
६ जना सवार प्र.३०१-२३ च ६९८५ नम्बरको गाडी शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौँबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

