सेवालाई प्रविधियुक्त बनाउँदै राक्सिराङ

हेटाैंडा- मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकाले आफ्ना सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने भएकाे छ । स्मार्ट गाउँपालिका बनाउले लक्ष्यमा अघि बढेकाे गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीमार्फत सेवालाई स्तरीय, छरिताे र प्रविधियुक्त बनाउने भएकाे छ ।

राक्सिराङ्ग गाउँपालिकाले तयार गरेकाे डिजिटल प्रोफाइल, मोबाइल एप्लिकेसनसहित विद्युतीय सुशासन प्रणालीलाई बृहत् रुपमा कार्यान्वयन गर्ने उद्धेश्यका साथ गाउँपालिकाले साेमबार कर्मचारी र जनप्रतिनिधिलाई अभिकुखीकरण तथा प्रशिक्षण दिएकाे छ ।

Advertisement:

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित कर्मचारी र वडा सचिवहरुलाई स्मार्ट पालिका बृहत रुपमा कार्यान्वयन गरी लागू गर्नका लागि सम्बन्धित सेवा प्रदायक संस्थाका विज्ञबाट अभीमुखीकरण/प्रशिक्षण दिइएकाे थियाे ।
गाउँपालिकाले तयार गरेकाे विद्युतीय सुशासन प्रणाली पूर्ण रुपमा कार्यान्वयन हुँदासम्म विभिन्न दर्ता चलानीदेखि सिफारिससमेत सेवाग्राहीले अनलाइनमार्फत नै प्राप्त गर्न सक्नेछन् । घटना दर्तादेखि कर तथा राजस्व तिर्ने व्यवस्था पनि अनलाइनमार्फत नै हुनेछ ।

प्रशिक्षण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सुशासन र प्रविधियुक्त गाउँ बनाउने अभियानमा आफूहरु रहेकाे बताए । स्मार्ट पालिकाकाे अवधारणाअनुरुप सेवाग्राहीले घरमै बसेर प्रविधिकाे प्रयाेगमार्फत गाउँपालिकाकाे सेवा लिने अवस्था ल्याउन लागिएकाे उनले प्रष्ट पारे । कर्मचारी र जनप्रतिनिधि अब प्रविधिसँग अभ्यस्त र अपडेट हुनुपर्नेमा उनकाे जाेड थियाे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबालगायतले मन्तव्य व्यक्त गरेका थिए । सेवा प्रदायक संस्थाका तर्फबाट राजानन्द मान्डवीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :