आज यी स्थानमा हुनेछ भारी बर्षा

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement:

कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, मधेस र कोसी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :