चितवनको क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको नियुक्ति पछि सम्पूर्ण शय्या निःशुल्क

१३ भाद्र काठमाण्डौ । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. शिवजी पौडेलको नियुक्ति पछिको पहिलो बैठकले अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् ।

बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिएका छन् ।

Advertisement:

पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् ।

यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ ।

अस्पतालको तर्फबाट एक महिलासहित दुई डाक्टर नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको हो ।

लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’

पौडेलले अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्था गर्ने बताएका छन् । अस्पताल आएका बिरामीलाई विवेक प्रयोग गर्न डाक्टर कर्मचारीलाई उनले आग्रह समेत गरेका छन् ।

मङ्गलवार पदभार गर्दै अस्पतालका डाक्टर कर्मचारीहश्रलाई उनले भने, ‘अरु केही गर्नै पर्दैन, विवेक प्रयोग गर्नुहोस् । तपाईँसँग ज्ञान, सीप र बुद्धि छ । बिरामीले तपाईँलाई भगवान् भनेर जानेछन् । भगवानको रुप तपाईँहरू बन्नुपर्छ ।’

उनले थपे ‘उपचारका सबै प्रक्रिया यथाशीघ्र छिटोछरितो उपलब्ध गराउने काममा लागिपर्ने छु । यसको अनुभूति बिरामीले केही महिनामा पाउनु हुनेछ ।’

व्यवस्थित नागरिक बडापत्र, सुझाव पेटिका र सूचना केन्द्र स्थापना गर्ने सङ्कल्प गर्दै उनले अस्पताल सेवालाई चुस्त दुरुस्त बनाई स्तरोन्नति गर्नेसमेत सङ्कल्प गरेका छज् । कार्यकारी निर्देशक डा पौडेलले भने, ‘ओपिडीलाई व्यवस्थित गर्ने, भएका सबै सेवालाई चलाउने, थप नयाँ सेवा प्रदान गर्ने मेरो योजना छ ।’

क्यान्सर रोगको नियन्त्रणका क्षेत्रमा योजनाबद्ध कार्यक्रम तयार गरी सातवटै प्रदेशमा क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उनले क्यान्सर रजिष्ट्रेशनका कार्यक्रमलाई अझै वैज्ञानिक बनाउने बताए । डा. पौडेलले भने, ‘क्यान्सरको अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछु ।

प्रतिक्रिया दिनुहोस् :