मंसिर ४ मा निर्वाचनको तयारी, चुनाव अघि नै लोसपालाई सरकारमा ल्याउँदै

mahanta-thakur-loktantrik-samajwadi-party

काठमाडौं, १७ श्रावण । सरकारले संघीय र प्रदेश सभा निर्वाचन मंसिर ४ मा गर्ने तयारी गर्दै छ ।

अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्नेछ । निर्वाचन आयोगले मंसिर २ मा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Advertisement:mahanta-thakur-loktantrik-samajwadi-party

‘अब बस्ने मन्त्रिपरिषद बैठकबाट मंसिर ४ मा चुनावको मिति घोषणा हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यसअघि नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने तयारी छ ।’

महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सत्ता गठबन्धनमा आउने चाहना गरेको छ । लोसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

‘लोसपालाई गठबन्धन र सरकारमा ल्याउन प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘चुनावको मिति घोषणा गर्नुभन्दा पहिले नै लोसपालाई सरकारमा ल्याउने तयारी हो।’

स्रोतका अनुसार लोसपालाई सरकारमा ल्याउन लगभग सबै नेता सकारात्मक छन् तर कसलाई मन्त्रीबाट हटाएर ल्याउने भन्ने गाह्रो परेको छ ।

‘लोसपालाई सरकारमा ल्याउन सबै तयार छन्, तर कसले छोड्ने अहिले नै यकिन भइसकेको छैन,’ उक्त स्रोतले भन्यो ।

चुनावको मिति घोषणापछि मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने सर्वोच्च अदालतको नजिरका कारण चुनाव मिति घोषणाअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी छ ।

लोसपालाई सरकार र गठबन्धनमा ल्याउनेबारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले भने प्रष्ट धारणा राखिसकेको छैन ।

 

 

श्रोतः सेतोपाटि डटकम

प्रतिक्रिया दिनुहोस् :