अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी

काठमाडौं, २३ भदौ/ अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका बहुआयामिक चुनौतिको अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट सामना गर्न सकिने गृहमन्त्री रमेश लेखकले दावी गरेका छन् । कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तराष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको गृहमन्त्री लेखेकले बताएका हुन् ।

नेपाल प्रहरीद्वारा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउन काठमाडौंमा हिजो आयोजना गरिएको एक समारोहलाई सम्बोधन गर्दै गृृहमन्त्री लेखकले आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताए । नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको र चुनौतिपूर्ण अपराधहरुको निराकरण गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुत बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको समेत उनले जानकारी दिए ।

Advertisement:

समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदानप्रदान गर्दै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ ।’

सो समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताए । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदानप्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने धारणा राखे ।

अन्तर्राष्ट्रिय प्रहरी दिवसका अवसरमा आयोजित उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘सीआईडी म्यागाजिन’ को विमोचन गरिएका थियो । नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित समारोहमा गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मूल्याङ्कनकर्ताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित ग्लोबल भिडियो कन्टेस्टमा सवोत्कृष्ट बन्न सफल नेपाल प्रहरीद्वारा निर्माण गरिएको Let’s Save the Planet’’ विषयक भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :