कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
काठमाडौँ / नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको छ।
नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन बनेपछि साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले समर्थन जारी राखेको थियो।
असार ८ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभाको बैठक आज बस्दै छ। बैठक बस्नुअघि नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।
आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै छौं’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। उनले भने, ‘संसदीय दलको बैठक बसेर त्यसको औपचारिक निर्णय गर्दैछौं।’
गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधार ५ बमोजिम माओवादी केन्द्रका १३ तथा नेकपा एमालेका ३९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री भएका थिए। जेठ १ गते उनले प्रदेशसभाबाट विश्वसको मत लिएका थिए। उनलाई काँग्रेस र राप्रपाबाहेकका दलहरुले विश्वासको मत दिएका थिए।