नेपाली महिला भलिबल टोली जनही १ लाख २ हजारसहित सम्मानित
काठमाडौँ / नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा)का तीन अन्ताराष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ।
बबरमहलमा शनिवार कार्यक्रम आयोजना गर्दै संघले काभा यु–२० नेपाली महिला भलिबल टोली, नेपालको बिच भलिबल (महिला र पुरुष) टोली र नेपाली सिनियर राष्ट्रिय महिला टोलीलाई नगदसहित सम्मान गरेको हो।
संघले काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता हरेक नेपाली खेलाडीलाई जनही एक लाख दुई हजार नगद पुरस्कारबाट सम्मान गरेको हो। गत महिना घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित भएका थियो।
सोही टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट पनि समान नगद पुरस्कारबाट सम्मानित भए। सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, फिजियो लोकेन्द्र कुँवर र टिम व्यवस्थापक नीलम बज्राचार्य नगद ८२ हजार रुपैयाँबाट सम्मानित भए।
नेपालले भुटानमा गत महिना सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत पदक जितेको थियो। नेपालको महिला टोली (मनीषा चौधरी र कमला पुन)ले स्वर्ण र पुरुष टोली (मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार)ले रजत पदक जितेका हुन्।
संघले स्वर्ण विजेता महिला टोलीका सदस्यद्वय कमला र मनीषालाई समान ६० हजारसहित सम्मान गर्यो। पुरुष टोलीले भने जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। सोही टोलीका प्रशिक्षक रूपेश विष्टलाई पनि ४० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको छ।
माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोलीका खेलाडी र प्रशिक्षक कुमार राईलाई नगद १५ हजार रुपैयाँ पुरस्कारबाट संघले सम्मान गरेको छ।
शनिवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, सहाना प्रधान स्मृति फाउण्डेशनकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडीलाई सम्मान गरेका थिए।