गाईजात्रा प्रस्तुतिहरुको भेलमा कलाकार कोदेको बसिवियालो पनि

काठमाडौं, ६ भदौ / चर्चामा रहेका हास्य कलाकारहरुले व्यावसायिक रुपमा प्रदर्शन गर्ने हास्यब्यङ्ग्य प्रस्तुतिसँगै नेपाली रङ्गमञ्चमा हास्य चरित्रको पहिचानमा रहेका कलाकार उत्तम अर्याल ‘कोदे’ ले पनि गाईजात्रा प्रस्तुति आमदर्शकमाझ ल्याएका छन् । सामाजिक सञ्जाल युट्युबमार्फत गाईजात्रा पर्व २०८१ को अवसरमा कलाकार उत्तम कोदेले ‘बसिवियालो’ नामाङ्कित हास्य व्यङ्ग्य प्रस्तुति दर्शकहरुमाझ ल्याएका हुन् ।

गाईजात्रा प्रस्तुति ‘बसीवियालो’ मा अर्को शीर्षक ‘चटक’ समेत थपिएको श्रव्यदृश्य प्रस्तुति रोचक र मनोरञ्जनात्मक बनाइएको छ । नेपालमा मनाइने विभिन्न चाड पर्वहरुमध्य कलाकारहरुका लागि महत्वपूर्ण पर्वका रुपमा रहेको गाईजात्राका अवसरमा निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रशारण गरिएको उक्त प्रस्तुतिमा नेपालको राजनीति गतिविधिमा देखिएको गलत प्रबृत्तिको चित्रण गर्न खोजिएको छ ।

Advertisement:

त्यसैगरी उक्त प्रस्तुतिले समाजभित्र चटकका नाममा सर्वधारणाबीच अनेकौं प्रकारका भ्रम फैलाउने प्रबृतिलाई पनि व्यङ्ग्य गरिएको छ । एक साताअघि सार्वजनिक गरिएको उक्त प्रस्तुतिको लेखन तथा निर्देशन कलाकार उत्तम कोदेकै रहेको छ । सो हास्यब्यङ्ग्य श्रव्यदृश्य प्रस्तुतिले नयाँ प्रतिभाको खोजी कार्यलाई समेत टेवा पुग्ने निर्देशक उत्तम कोदेको दावी छ ।

आरोन इन्टरटेन्मेन्टको नाममा सृजना गरिएको युट्युब च्यानलमार्फत आमदर्शकहरुमाझ ल्याईएको उक्त प्रस्तुतिमा उत्तम कोदेको साथमा पीताम्बर चापागाई, बद्री पुडासैंनी, कमल मैनाली, राम थापा, जनार्दन फुयाल, सुरेश तिमल्सिना, सुन्दर लामिछाने, अञ्जु गुरुङ, जमूना तिवारी, चन्दन ठाकुर, अरुण पोख्रेल, विराज श्रेष्ठ, प्रकृति राना मगर र राज न्यौपानेआदि कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :