पोखराको एक होटलबाट ५० लाख बराबरको लागुऔषधसहित दुई जना पक्राउ
पर्वत / जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको एक होटलबाट करिब ५० लाख मूल्य बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–९ न्यूरोडमा रहेको होटल दीप दर्शनमा अवैध रूपमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले उक्त लागुऔषध बरामद गरेको हो।
होटलमा लुकाइछिपाई राखिएको आठ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले बताए। जसको बजार मूल्य करिब ५० लाख बराबर रहेको र कास्कीमा यति ठुलो रकम बराबरको लागुऔषध एकै ठाउँमा बरामद भएको यो नै पहिलो घटना भएको उनले बताए।
होटलका सञ्चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घर भई पोखरा महानगरपालिका–९ न्यूरोड बस्ने ३७ वर्षीय इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर स्याङ्जाको आँधिखोला गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २५ वर्षीय मिलन पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले दर्ता नगरिएको मेडिकल होटलभित्रबाटै सञ्चालन गर्दै आइरहेको र मेडिकलको बोर्ड समेत नराखेको प्रहरीले बताएको छ। उक्त मेडिकल यसअघि बिरौटामा सञ्चालनमा रहेको र केही दिन अगाडि मात्रै होटल दीप दर्शनमा सरेको थियो।
बरामद भएका लागुऔषधहरूमा तेह्र हजार छ सय ट्याब्लेट टापेन्टाडोल हाइड्रोक्लोराइड, एक हजार छ सय ट्याब्लेट टापेन्टाडोल (एपेन्डोल–५०), दुई हजार छ सय ट्याब्लेट टापेन्टाडोल (टिनाड–५०), चार हजार ट्याब्लेट टापेन्टाडोल (टिनाड–७५), टापेन्टाडोल हाइड्रोक्लोराइड एक्सटेन्डेन्ड ट्याब्लेट (टिपल–ई.आर.–१००), नौ हजार आठ सय ट्याब्लेट टापेन्टाडोल (टिनाड–१००), चार हजार ट्याब्लेट टापेन्टाडोल–७५ एम.जी र २१ हजार चार सय ट्याब्लेट टापेन्टाडोल–१०० एम.जी रहेका छन्। यसरी कुल ४३ हजार दुई सय ट्याब्लेट लागुऔषध र दुई थान मोबाइल फोन सहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।