नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न माग
काठमाडौँ / सत्तासाझेदार नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन्।
प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनलाई तीव्रता दिनुपर्ने बताए।
सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे। विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो।
‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन? डिजीले राजीनामा नदिए सरकारले अनुसन्धान चलिरहेको वेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन? यस्ता विभिन्न घटना हुन्छन्‚ हामी सबैले संसदमा बोल्छौँ‚’ उनले भने, ‘यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् पछि हामी बिर्सिन्छौँ। एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन।’
सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने पनि बताए।