पोखरामा पत्रकारमाथि कुटपिट गर्ने पक्राउ
पोखरा / गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प भएको बारेमा समाचार संकलनमा पुगेका पोखराका दुई पत्रकारमाथि हातपात गरको आरोपमा पाँचजना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने ट्याक्सीचालक सूर्यबहादुर नेपाली, गोरखा घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मजदुर बुद्धिबहादुर बयलकोटी र पोखरा-१६ लामाचौर बस्ने बसको सहचालक प्रशान गुरुङ पक्राउ परेका हुन्।
यस्तै लमजुङको सुन्दरबजार-१ कुन्छा घर भई हाल पोखरा-५ जिरो किलोमिटर बस्ने ट्याक्सीचालक सन्तोष बस्नेत र स्याङ्जाको आँधिखोला गाउँपालिका-२ पोखराचौर घर भई पोखरा-१७ घारीपाटन बस्ने टंकबहादुर क्षेत्री पक्राउ परेको प्रहरीले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आइतबार प्रदेशमा सार्वजनिक यातायात बन्द गरिएको थियो। गण्डकी प्रदेश सरकारले निजी दुईपांग्रे एवं चारपाग्रे सवारी साधनलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयको विरोधस्वरूप भाडाका सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोर्टिङ गरिरहेका दुई पत्रकारमाथि पृथ्वीचोकमा कुटपिट भएको थियो।
गण्डकी भ्वाइस अनलाइन मिडियाका व्यवस्थापक/निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोर्टर बिनाकुमारी थापामाथि कुटपिट भएको हो। कुटपिटमा परेका दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।