नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सञ्चालन हुदै

काठमाडौं, ११ असार / नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज हुन लागेको छ । सचिवस्तरीय नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा हुन लागेको हो ।

१६ औं बैठकका लागि चिचियाँ टोलीका तर्फबाट नेतृत्वका लागि सोमवार नै चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आईपुगेका छन् । आज हुने कुटनीतिक बैठकमा उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व रहने बताइएको छ । परराष्ट्र मन्त्रालयद्वारा दिइएको जानकारी अनुसार बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने छ ।

Advertisement:

आज हुने बैठकमा भाग लिन नेपाल आएका चिनियाँ उप विदेशमन्त्री सुनले सोमबार सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटका अवसरमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफलसमेत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आज हुने बैठकमा चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका विषयहरु छलफलका एजेन्डामा समावेश गरिएको छ । त्यसैगरी नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्ने जस्ता द्विपक्षीय व्यपारको बारेमा पनि छलफल बताइको छ । सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल गरिने परराष्ट्र मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यस्तै सन् २०१६ मा गरिएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि नेपालले जोड दिने, गत साता नेपाल र चीनबीच बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावकाबारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रलयले जानकारी दिएको छ । सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बीआरआईको प्रगतिबारे चर्चा गर्ने र सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :