पोखराको नीति : बाँदर भएको क्षेत्रमा वैकल्पिक खेती, ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

कास्की / पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बाँदरको अतिक्रमणबाट प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बाली लगाउने कुरा समावेश गरिएको छ। बाँदरले अतिक्रमण रहेको ठाउँमा वैकल्पिक खेतीको अध्ययन गरी सिफारिसको आधारमा बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गरिने उल्लेख छ। सङ्घ र प्रदेश सरकारसँग समेत समन्वय गरेर बाँदर व्यवस्थापनको पहल गरिने पनि भनिएको छ।

Advertisement:

निजी क्षेत्रको सहकार्यमा ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सार्वजनिक यातायात सेवाको व्यवस्था मिलाइने, ‘मेक इन पोखरा मेड इन पोखरा’ लाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धन गरिने, पोखरामा पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीको लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने पनि नीतिमा समावेश गरिएको छ।

आगामी सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिने, सङ्घ, प्रदेश सरकार र नीजिक्षेत्र सँग सहकार्य गरी पोखरामा पर्यटक आगमन सङ्ख्या कम्तीमा पन्ध्र लाख पु¥याइने, नेपालमा आउने बाह्य पर्यटकहरूमध्ये कम्तीमा ६० प्रतिशतलाई पोखरा आउने वातावरण बनाउन आवश्यक रणनीति अवलम्बन गरिन, आगामी आर्थिक वर्षबाटै मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था गरिने पनि महानगरप्रमुख आचार्यले बताए।

महानगरपालिकाभित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गहरूको अभिलेख तयार गरी नक्साङकन गरिने, रोयल ट्रेकलाई पुनः रेखाङ्कन गरी विकास तथा प्रवर्द्धन गरिने, ‘लेक टु लेक’, ‘केभ टु केभ’ तथा ‘कोट टु कोट’ पदमार्ग निर्माण सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदनको आधारमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने भनिएको छ। महिला उपर हुने सबै प्रकारका हिंसा, बालविवाह, बहुविवाह, मानव बेचबिखन लगायतका सामाजिक विकृति रोकथाम तथा नियन्त्रण गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पीडित तथा प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापनाका कार्यक्रम, गण्डकी प्रदेश सरकारसँग समन्वय गरी बहुउद्देश्यीय पुनस्थापना केन्द्र स्थापना गर्ने भनिएको छ।

महानगरपालिकाका विद्यालयहरूमा प्राविधिक तथा व्यावसायिक सीप तथा ज्ञान मार्फत सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने, विद्यालयमा हरेक शुक्रवार हुने अतिरिक्त क्रियाकलापमा व्यवहारिक सीप तथा ज्ञान आर्जन हुने गरी ‘स्किल टु वर्क’ कार्यक्रमलाई समावेश गरिने, एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई सामाजिक काममा स्वयंसेवकको रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने पनि उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :