मन्त्रिपरिषद्ले सहकारीबारे शक्तिशाली आयोग गठन गर्छ : मन्त्री अधिकारी

तातोखबर, काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताएका छन् ।
शुक्रबार सरकारमा सहभागी भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशिल भएर काम गरिरहेको बताएका छन् ।
उनले सरकारले आन्दोलनरत सहकारीका बचतकर्तासँग गरेका ८ बुँदे सम्झौतामा अध्ययन र छलफल गरी समाधानका काम भइरहेको बताए । मन्त्री अधिकारीले समस्याग्रस्त घोषणा भएका सबै सहकारीको बचत फिर्ताका लागि ५९ हजार ५८७ वटा निवेदन रहेको बताए। उनले ५९ हजार ५८७ वटा निवेदनमा ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार माग दाबी रहेको बताए।
उनले समस्याग्रस्त सहकारीका सदस्यबाट ८७ लाख असुल भएको पनि बताए । उनले सहकारीहरुको रेकर्डमा ३१ हजार ४५० भनिए पनि अहिलेसम्म सहकारीको रेकर्ड व्यवस्थित नभएको जिकिर गरे ।
उनले सहकारीका समस्या समाधान नभएसम्म नयाँ सहकारी दर्ता प्रक्रिया खुला नगर्न सबैलाई परिपत्रसमेत गरिएको बताए ।
उनले अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा भएको बताए । मन्त्री अधिकारीले आफूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमि व्यवस्थातर्फ ६१, गरिबीतर्फ ८ र सहकारीतर्फ ३१ काम गरको विवरण प्रस्तुत गरे ।
उनले ऐन कानुन निर्माण, अनाधिकृत रूपमा प्रयोग भएका र अनुचित ढङ्गले कब्जा गरिएको सरकारी जग्गा फिर्ता ल्याउने, मालपोत, नापी तथा सहकारी कार्यालयहरुको कार्यसम्पादनमा चुस्तता ल्याउने, सुशासन कायम गराउने तथा सहकारी समस्याको ठोस समाधानका लागि ठोस योजना निमार्ण गर्ने कार्यमा मन्त्रालयले राम्रो प्रतिफल हासिल गरेको समेत बताए ।
उनले कार्यभार सम्हालेको पहिलो दिन नै संघीय भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका २०८१ जारी गरी भूउपयोग क्षेत्रको बर्गीकरणमा हुँदै आएको त्रुटि हटाउने काम गरेका बताए। उनले विगत कयौं वर्षदेखि अनुचित ढंगले कब्जा गरिएको बाँसवारी छाला जुत्ता कारखानाको करिव १० रोपनी जग्गालाई नेपाल सरकार मातहतमा ल्याउने काम गरेको र अन्य अनाधिकृत रुपमा प्रयोग भएका जग्गाहरु सरकारको नाममा ल्याउने काम सुरु भइससकेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस