नुन लिनका लागि पनि नागरिकता पेश गर्नुपर्ने ठाउँ हुम्लाको सिमकोट

iodised-salt-humla

तातोखबर, हुम्ला / हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दाले नागरिकता पेश गरे पछिमात्र १० किलो नुन पाउँदै आएका छन्।

सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयले उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दालाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो।

Advertisement:iodised-salt-humla

उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए। उनका अनुसार एक जनासँग १० किलो नुनको ९० रुपैयाँ लिने गरिएको छ।

“यसरी प्रतिकिलो ९ रुपैयाँ पर्छ। एक बोरामा ५० प्याकेट नुन हुन्छ। त्यो नुनको बोरा ४५० रुपैयाँमा बिक्री हुँदै आएको छ”, उनले भने।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतवार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेश गरेपछि नुन वितरण गरिन्छ।

सदरमुकाम सिमकोटमा ३ पालिकासहित जिल्लाभरिका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ।

लामाका अनुसार आव ०८०/८१ का लागि जिल्लामा १ हजार ५ सय क्विन्टल नुन आइपुगेको छ। जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए।

झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका बासिन्दालाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा ३८७, सर्केगाडमा ४८५, अदानचुलीमा ४८५ र ताँजकोटमा ४ सय क्विन्टल नुन वितरण गरेको जानकारी दिए।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चङ्खेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको जानकारी उनले दिए।

जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोग घट्दै गएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :