साहित्यकार कृष्ण बजगाईका दुई पुस्तक एकै साथ विमोचन

काठमाडौं, २२ चैत्र / साहित्यकार कृष्ण बजगाईंका दुई कृति एकसाथ सार्वजनिक भएका छन् । एक कार्यक्रमका बिच बजगाईंका लघुकथा सङ्ग्र्रह ‘नग्न स्वप्न’ र नियात्रा सङ्ग्रह ‘युङ्फ्राउ’को लोकार्पण गरिएको हो ।
लिवरपुल युनिवर्सिटी हस्पिटलका डा. शम्भु आचार्य, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, डा.फणीन्द्रराज निरौला, कवि श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले संयुक्त रूपमा कृति विमोचन गरेका थिए ।

आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रा सङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रीस र पोर्चुगलका २७ यात्रानुभूति समावेश गरिएका छन् भने लघुकथा सङ्ग्रहमा ६१ लघुकथा समावेश गरिएका छन् ।

Advertisement:

कार्यक्रममा समालोचक डा. फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रा सङ्ग्रह युरोप भ्रमणको सँगालोमा आधारित रहेको बताए । उनले भने, “उहाँको यो पाँचौं नियात्रा कृति हो । यो रोचक र महत्त्वपूर्ण छ । यसमा उनले विभिन्न देशका भ्रमणयात्रा समेटेका छन् । साँस्कृतिक उत्खनन् पनि भेटिन्छ ।”

समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताए । उनले भने, “उहाँको नियात्राले ऐतिहासिक उत्खनन् गरेको हुन्छ । नियात्रा पढ्दा लाग्छ, उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ । उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ ।” दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

हाल बेलायतमा बस्दै आएका साहित्यकार बजगाईंका १८ कृति प्रकाशित भइसकेका छन् । यसअघि उनका ‘कागजको मन्त्री’, ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथासङ्ग्रह तथा ‘दाइबुचु’, ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत नियात्रासङग्रह प्रकाशित छन् ।

— साहित्य पोष्टबाट साभार

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application