एसएमएस फ्रेन्डशिपकप टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

nepali-cricket

तातोखबर, काठमाडौँ / एसएमएस फ्रेन्डशिप कपअन्तर्गत चलिरहेको त्रिकोणात्मक टी–२० सिरिजमा आजको खेलमा नेपालले भारतको स्थानीय क्लब बरोडा क्लबलाई २७ रनले पराजित गरेको छ ।

बरोडाले निर्धारित २० ओभरमा अल आउट हुँदै १२९ रन मात्र बनाएपछि २७ रनले पराजित भयो । आजको जितसँगै नेपाल सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

Advertisement:nepali-cricket

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १५६ रन बनाउँदै जितका लागि बरोडालाई दिएको १५७ रनको लक्ष्य दिएको थियो ।

दोस्रो ब्याटिङ गरेको बरोडाका लागि शुरुवात नै सुखद रहेन । ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा नेपालले पवेलियन फर्काएपछि बरोडा दबाबमा परेको थियो। त्यसपछि लगातारजस्तै बरोडाको विकेट खसेको थियो ।

बरोडाका लागि भानु पनियाले २६ बलमा बनाएको ३८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । उसका लागि बाबा खानले १० बलमा २७ रन‚ कप्तान विष्णु सोलंकीले ३२ बलमा २५ रन र अमित पासीले ९ बलमा १४ रन बनाए। यसबाहेक अरु कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट‚ सोमपाल कामीले २ विकेट तथा गुलशल झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात सशक्त रहेन। ओपनर कुशल भुर्तेल ११ बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेख पनि १२ बलमा ९ रन बनाएर आउट भए ।

अनिल साहले २७ बलमा २५ रन र कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए। रोहित दोस्रो रन लिने चक्करमा आउट भए ।

सन्दिप जोराले १६ बलमा २९ रन बनाएर रन आउट भए। गुलशन झाले १४ बलमा १३ रन बनाए ।

कुशल मल्लले अविजित रहँदै २५ बलमा ४० रन बनाए भने अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा ५ रन बनाए।

नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

बरोडाका लागि पेसर बाबा खानले २ विकेट‚ मोहित मोंगिया र परीक्षित पटेलले १/१ विकेट लिए।

नेपालले आज दोस्रो खेल पनि जित्दै दुई खेलबाट ४ अंक जोड्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो।

पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज नेपालसँग पनि पराजित भएको छ।

नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ।

भोलि दिउँसो नेपालले गुजरातसँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application