बागमतीमा नेकपा एसकी आलेले लिइन् विनाविभागीय मन्त्रीको शपथ

Mantri_sapath_bagmati_pradesh

तातोखबर, हेटौंडा / बागमती प्रदेशका नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

नेकपा एकीकृत समाजवादीकी सांसद आलेले मंगलवार विहान विनाविभागीय मन्त्रीको शपथ लिएकी हुन्।  उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका छन् । मन्त्री आलेलाई एक हप्ताभित्रै कुनै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले बताएका छन् ।

Advertisement:Mantri_sapath_bagmati_pradesh

नवनियुक्त मन्त्री आले चन्द्रागिरी नगरपालिका काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी अघिल्लो कार्यकालमा उद्योग पर्यटन तथा वन समितिकी सभापति समेत भएर काम गरेकी छन्।

सोमबार जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रदेशसभा बैठक सांसद मगरकै कारण चार घण्टा प्रभावित बनेको थियो। दिउसो १ बजेसम्म काठमाडौंमै रहेकी उनले विगतको घटनालाई कारण देखाएर विश्वासको मत दिन हेटौंडा आउन अस्वीकार गरेकी थिइन्।

आफूलाई यसअघि पनि मन्त्री बनाउने आश्वासन देखाएर रित्तो हाल फर्किन बाध्य पारेको उनको भनाइ छ। सोमवार मन्त्री पद दिने प्रतिवद्धतापछि उनी साढे ३ बजेभित्र हेटौंडा आएकी थिइन्। उनी आएपछि मात्रै प्रदेशसभा बैठक साढे ४ बजे सुरु भएको थियो र मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाए।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा तेस्रो पटक सरकार विस्तार गरेका हुन्। यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री र १७ चैतमा नेकपा एमालेका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । जम्कट्टेलले एक हप्ताभित्रै सरकार विस्तारलाई पूर्णता दिने बताएका छन्।

नेकपा एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ। रिक्त ६ वटा मन्त्रालयमध्ये हाम्रो नेपाली पार्टीका बज्राचार्य र नेकपा एसका आलेले विनाविभागीय मन्त्री बने सकेका छन्। १२ सदस्यीय प्रदेश मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय, सामाजिक विकास गरी ४ वटा मन्त्रालय सम्हालिरहेको छ।

नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ।

अब बाँकी ४ वटा मन्त्रालयमा एक मन्त्रालय विना नेकपा एसका विनाविभागीय मन्त्री आलेलाई जिम्मेवारी दिँदा एमालेले तीनवटा मन्त्रालय मात्रै पाउने देखिएको छ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय र स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफैं राखेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application