आजबाट भक्तपुरमा बिस्काः जात्रा शुरु

Biska_jatra_bhaktapur

तातोखबर, भक्तपुर / नौ दिनसम्म मनाइने ऐतिहासिक बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा शुरु भएको छ।

जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानदेखि भीड लागेको छ। आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरी जात्रा शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन्।

Advertisement:Biska_jatra_bhaktapur

उनले भनिन्, ‘आज बिहान नित्य पूजा शुरु गरेपछि सर्वसाधारणको पूजा शुरु भइसकेको छ। पहिला आज गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ। त्यसपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तानिनेछ। यो वर्ष छिटै रथ तानेर गःहिती पुर्‍याउने लक्ष्य राखेका छौँ।’

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराज गराई हनुमानढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा शुरु भएको थियो।

विगतमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म तौमढीबाट रथलाई माथि र तल तानेर गःहिती पुर्‍याउने चलन भए पनि यो वर्ष भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहितीपुर्‍याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताइन्।

विगतका वर्षहरूमा रथमा जथाभावी मानिस बस्ने गरे पनि यो वर्ष रथमा जुसी बजु, कर्माचार्य, तलेजुका मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने उनले बताइन्।

आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ। वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताइन्।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रा शान्तिपूर्ण सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताइन्।

प्रजिअ श्रेष्ठले भनिन्, ‘३ बजे रथ तान्न सुरु गरी ६ बजेसम्म सम्पन्न गर्नेछौँ। जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेका हुन्छन्।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application