उपनिर्वाचनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चुनाव चिन्ह वितरण

काठमाडौं, ५ चैत्र / आगामी बैशाख १५ गते प्रतिनिधि सभा र प्रदेशसभाको रिक्त एक एक पदमा हुने उपनिर्वाचनका लागि दल दर्ता प्रकृया टुङ्गिएको छ । आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि २० वटा र प्रदेशसभाका लागि १९ वटा दलहरु दर्ता भएका हुन् ।

विक्रम सम्बत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा राजनीतिक दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताक्रम टुङ्गो लागेको निर्वाचन आयोगद्वारा जानकारी दिईएको छ ।

Advertisement:

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानूनी व्यवस्था बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा २० वटा र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा १९ वटा राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) को अनुसूची–१२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगको चैत्र ४ गतेको निर्णय बमोजिम दर्ता गरिएको बताईएको छ । प्रकृया पुगेर दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको निर्वाचन आयोगका प्रबक्ता शालीकराम शर्माले जानकारी दिएका छन् ।

निर्वाचन आयोगद्वारा उपनिर्वाचनमा भाग लिने दलहरुको नाम सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) रहेका छन् ।

त्यसैगरी दर्ता गरिएका अन्य दलहरुमा नेपाली जनता दल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालका साथै बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी एवं राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरुमा मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाली जनता दल रहेका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि दर्ता भएका अन्य दलहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टीका साथै राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :