सहकारी ठगीमा गृहमन्त्रीमाथि छानविन गर्नुपर्छ : गगन थापा

gagan-thapa-samsad-bhawan

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका हालका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ लिनु गैरकानुनी हुने भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन्।

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान गर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए ।

Advertisement:gagan-thapa-samsad-bhawan

उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरे । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरे ।

उनले भने, ‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने। तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ। सहकारीको सदस्य हुनुहुन्न। हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानुनी छ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखापरेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस् :