पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री ‘प्रचण्ड’

prachanda-dance-pokhara

तातोखबर, पोखरा  / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा धेरै पोखरेलीहरु सामेल भएका थिए। फेवातालछेउ बाराहीघाट भरिभराउ थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो।

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिने कार्यक्रम थियो । प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत गाएर मनोरन्जन प्रदान गरे।

Advertisement:prachanda-dance-pokhara

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ गित सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्ले। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे। अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए।

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’। देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै थिए। सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।

“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भनेका थियो। उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे।

गायक सपुतको ‘बोलमाया’ गीतमा प्रधानमन्त्री सहित विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा छुट्टै रौनकता छाएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले ताली बजाएर साथ दिएका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।” उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application