चितवनमा गैँडा धेरै भएपछि पश्चिमबाट पूर्व सारिँदै

gaida-chitawon

तातोखबर, चितवन / चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि देखि गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन चलिरहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले दिएको जानकारी अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको बैठक आजे बसेर बुधबारदेखि काम सुरु हुने पुनले बताए।

Advertisement:gaida-chitawon

निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरि गैँडा स्थानान्तरणको कम सम्पन्न गरिने उनले बताए।अहिले हामीले सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरिरहेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो। आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने उनले बताए छ।

बुधबार बिहान वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने  उनले बताए । अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको उनले बताए । गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज आइसकेको छ।

पुनका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिहरु निकुञ्जमा आइसकेका छन्। गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री ‘कोर’ क्षेत्रमा र  नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिने छ। निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ। स्थानान्तरण गर्दा भालेपोथीको रेसियो मिलाइने उनले बताए।

दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो। पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्।

प्रतिक्रिया दिनुहोस् :