अन्तर्राष्ट्रिय नारी दिवस, नेतृत्व तहमा खै त महिलाको सहभागिता ?

nari-diwas-woman-day-march-8-tatokhabar-tato-khabar-hot-news.jpg

मन्जिता मैनाली

हेटौंडा–आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय महिला दिवस, महिला अधिकारको आवाज उठेको दिनको स्मरणमा हरेक वर्ष आजको दिन महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने चलन छ ।
अन्तर्राष्ट्रिय रुपमा महिला मुक्तिको आवाज उठेको सताब्दी बितिसक्दा पनि व्यवहारमा भने महिलाले समान हक र अधिकार भने पाउन सकेका छैनन् । प्रत्येक वर्ष झै यो वर्ष पनि ‘महिलामा लगानी; सभ्य र समुन्नत समाजको थालनी’ भन्ने अन्तर्राष्ट्रिय नारा सहित विभिन्न कार्यक्रम गरेर ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको छ । दिवस मनाइरहँदा बागमती प्रदेश सरकार र मकवानपुर जिल्लामा नेतृत्व तहमा महिलाको सहभागिता भने निराशाजनक देखिन्छ । नेतृत्व तहमा महिलाको समानुपातिक सहभागितालाई नेपालको संविधान र कानुनले व्यवस्था गरेको भएता पनि कार्यान्वयन पक्ष भने कमजोर रहेको छ ।

Advertisement:nari-diwas-woman-day-march-8-tatokhabar-tato-khabar-hot-news.jpg

कुन मन्त्रालयमा कसको नेतृत्व ?
बागमती प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन् । १२ वटा मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको नेतृत्व मात्रै महिलाले गर्छिन् ।काङ्ग्रेसकी सांसद मसिना खड्कालाई वन तथा वातावरण मन्त्री र माओवादीकी सांसद कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको भएता पनि मुख्यमन्त्रीसहित अन्य १० मन्त्रालयमा पुरुषको नेतृत्व छ । यद्यपी राजनीतिक गठबन्धनमा फेरबदल आएसँगै कांग्रेसबाट मन्त्री बनेका ६ जना मन्त्रीहरुले बुधबार राजिनामा दिइसकेका छन् ।
बागमती प्रदेश सरकारको प्रमुख सचिव र मन्त्रालय तथा आयोगको सचिवहरुमा पनि महिलाको संख्या अत्यन्त्रै न्युन रहेको छ । मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव सहित १५ जना सचिव रहेकोमा १ जना मात्र महिला छिन् । मुख्यमन्त्री कार्यालयको महाशाखा प्रमुखमा २ पुरुष र एक महिला रहेका छन् । मुख्यन्त्री कार्यालयमा कार्यरत ५२ जना कर्मचारी मध्ये १७ जना मात्र महिला रहेका छन् । प्रदेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी भने महिलाले लिएकी छन् ।
प्रदेश सरकारमा मात्र हैन मकवानपुरको स्थानीय सरकारको नेतृत्व तहमा पनि महिला सहभागिता अत्यन्तै निराशिलो छ । मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा मात्रै महिला नेतृत्व रहेको छ भने अन्य ९ वटा पालिका पुरुषले नै चलाइरहेका छन् । स्थानीय तहको नेतृत्वका लागि राजनीतिक दलबाट उम्मेदवार बनाउँदा प्रमुख या उपप्रमुखमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ तर, व्यवहारमा भने कार्यान्वयन हुन सकेन । निर्वाचनका बेला राजनीतिक दलबीच भएको गठबन्धनका कारण धेरै पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष बनेका छन् । मकवानपुरको १० वटा स्थानीय तहमध्ये ३ वटा तहमा मात्र महिला उपाध्यक्ष रहेका छन् ।
२०७२ नेपालको संविधान धारा ३८ महिलाको हक उपधारा (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ । संविधानमा भएको महिला सम्बन्धी हकको व्यवस्था भने पूर्ण रुपमा लागू हुन सकेको छैन ।
संघीय लोकतान्त्रिक व्यवस्था स्थापना भए यता नेतृत्व तहमा महिलाहरुको सहभागिता केही बढेको भएता पनि प्रयाप्त हुन नसकेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको भनाइ छ । मन्त्री मण्डल गठनको सन्दर्भमा पार्टीले गर्नुपर्ने भागबन्डा समावेशी नभएको मन्त्री मुक्तानले बताइन् । महिलामाथि विश्वास नगर्ने र विश्वासको वातावरण नै नबनेको मन्त्री मोक्तानको बुझाइ छ ।
बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको अनुसार प्रदेश सचिवमा संघीय सेवाको सह सचिव आउने र पछिल्लो समय बढुवाबाट खुल्ला प्रतिस्पर्धाबाट र समावेशी व्यवस्थाबाट पनि निर्णायक तहमा केही महिलाको उपस्थिति रहेको छ । तर माथिल्लो पदहरुमा महिलाको उपस्थिति जनसंख्या अनुसारको समानुपातिक किसिमले नभएको उनको भनाइ छ । क्रमिक रुपमा सुधार भइरहेको भएता पनि हुनुपर्ने जति सुधार अझै नभएको बताउँदै सात प्रदेश मध्ये दुईवटा प्रदेशको प्रमुख सचिवमा भने महिला नै रहेको प्रमुख सचिव उपाध्यायले स्मरण गराए ।

यसरी मनाउन थालियो नारी दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।महिला हक अधिकारको माग गर्दै भएको प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिन थालियो ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन थालियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application