नेपाल विद्युत प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड नाफा कमायो

kulman-ghising-NEA

तातोखबर, काठमाडौँ /  नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना सम्ममा रु.१५ अर्ब ३६ करोड ६ लाख नाफा कमाएको छ।

प्राधिकरणको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणका अनुसार उक्त अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको हो।

Advertisement:kulman-ghising-NEA

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरूलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रूपैयाँ नाफा (करकट्टी गर्नुअघिको) आर्जन गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणले रु. १० अर्ब ९१ करोड ६० लाख रूपैयाँ नाफा गरेको थियो।

गत  आर्थिक वर्षको पहिलो ६ महिनालाई  तुलना गर्दा प्राधिकरणको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रूपैयाँले बढी रहेको छ। प्राधिकरणको गत आर्थिक वर्षको नाफा १२ अर्ब ३३ करोड रूपैयाँ रहेको थियो।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसयता निरन्तर नाफामा छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढेकाले आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताएका छन्।

प्राधिकरणमा चालु आर्थिक वर्षको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रूपैयाँ संकलन भएको छ।

सो अवधिमा प्राधिकरणले देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रूपैयाँको विद्युत खरिद गरेको थियो।

प्राधिकरणका सहायक तथा आवद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख रूपैयाँ र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रूपैयाँको विद्युत आयात भएको छ।

समीक्षा अवधिमा नेपाल सरकारमार्फत् विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रूपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application