साहित्यकार तिलकप्रकाशका दुई कृतिहरु एकै साथ विमोचन

– राजेश दिदिया

भक्तपुर, १२ फागुन / साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका साहित्यकार तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो ।

भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबीच लेखक तिलक प्रकाशका ती दुई कृतिहरू पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले एक एकवटा गरी विमोचन गरेका थिए ।

Advertisement:

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठावान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे ।

उनले साहित्यकार तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए । अहिले राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्नेमा पूर्व सभामुख ढुङ्गानाले जोड दिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताउदै तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गरे । झण्डै ९ दशक उमेर पुग्नै लागेका साहित्यकार प्रकाशका नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको भन्दै निभाले साहित्यकार तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको बताए ।

अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा सञ्चारकर्मी सञ्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।

उक्त समारोहमा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताए । उनले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपाली र सुमी बनेपालीलाई सम्मान गरेका थिए । भने कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारणबारे उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताए ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टासम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी, यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् ।

दैनिक जसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलक प्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् :