हेटौंडाका कृष्णको क्रन्दन : दुःखले लखेटेर सडक आएँ, यहाँबाट भागेर कहाँ जाउँ ?

तातोखबर, हेटौंडा / हेटौंडा–१० का ६५ वर्षीय कृष्णबहादुर कार्कीको एउटा खुट्टा काटिएको छ भने एउटा हातले काम गर्न सक्दैनन् । उनी पेशाले घर बनाउने ठेकेदार थिए तर, समयले उनलाई सडकमा बसेर माग्ने बनाएको ५–६ वर्ष मात्रै भयो । हेटौंडाको सीमाचोकमा दैनिक बिहानदेखि बेलुकासम्म कसैको दयाको दान बटुल्नु उनको दैनिकी बनेको छ ।
१३ वर्षको उमेरदेखि घर बनाउने काममा हिँडेका कृष्ण पछिल्लो समय आफैँ ठेक्का लिएर घर बनाउने काम गर्थे । घर निर्माणको ठेक्का लिएर काम गरिरहेकै बेला ७ वर्ष अगाडि गारो र रेलिङ पल्टिएर उनी घाइते भए । उनको लामो समय कलकतामा उपचार भयो । उनी निको त भए तर एउटा खुट्टा काटियो भने एउटा हातले राम्रो काम नगर्ने भयो । उनको खुट्टा काटिए पनि आफुले नयाँ जीवन पाएकोमा खुसी थिए । आमा ३ वर्षको उमेरमै छोडेर गएपछि टुहुरो भएका कृष्णको पैतृक सम्पति पनि केही छैन । दैनिक काम गरेर कमाएको पैसाले आफू र परिवारको पेट पालिरहेका कृष्ण अपाङ्ग बनेपछि परिवारमा बज्रपात पर्यो । आम्दानीको स्रोत अरु नभएपछि विगत केही वर्षदेखि सीमाचोकस्थित सडकमा मागेरै जीवन धान्ने प्रयास गरिरहेका छन् ।
‘बाटोमा बसेर मागेको २, ३ सय कमाएको भरमा ४ सन्तान र बिरामी श्रीमती पालिरहेको छु । कोठा भाडा नै महिनाको १४ हजार बुझाउनुपर्छ । ४ भाइ छोरामध्ये दुइजना ७, ८ वर्षका भए सानै छन् । १७, १८ वर्षका २ छोराहरुले पढ्न पाएनन्, अहिले उनीहरु कामको खोजीमा भौतारिरहेका छन् ।’ कार्कीले भने ।
उनकी श्रीमती सीता कार्की मुटु फोक्सो लगायत विभिन्न रोगबाट ग्रसित छिन् । श्रीमतीको उपचार गराइदिन वडादेखि उपमहानगरपालिका धेरै धाएका उनले कतैबाट कुनै सहयोग नपाएको गुनासो गर्छन् । ‘हेटौंडा– १० बसपार्कमै बसेर १९ वर्षको उमेरदेखि कतिलाई भोट हालेर जिताइयो तर, आफूलाई समस्या पर्दा कसैले हेरेनन् ।’ कृष्ण भन्छन् ‘संसारमा मलाई बाँच्न गाह्रो भएको छ तर पनि माथिबाट बोलावट नभएसम्म त जस्तो दुःख सहेर पनि मैले बाँच्नैपर्छ ।’
अहिले उनले दुई सन्तानलाई ज्ञानोदय स्कुलमा पढाइरहेका छन् । मागेरै खाँदा पनि प्रहरीले आफूलाई लखेट्ने गरेको भन्दै उनी दुखेसो गर्छन् । ‘दुःखले लखेटेर सडकमा आएको छु, यहाँबाट पनि मलाई लखेट्न खोज्छन्, यहाँबाट पनि भागेर म अपाङ्ग कहाँ जाउँ ?’ उनी कारुणिक आवाजमा बोल्छन्– ‘काल नआएसम्म आफू र आफ्नो परिवारको प्राण बचाउन खोजेको हुँ ।’
प्रदेशसञ्चारबाट
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस