खोला पुर्दै शिवम् सिमेन्टको ओभरबटम

— एमपी शर्मा,

हेटौंडा, ९ फागुन / मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को सुकौरा र ८ को खोटारमा शिवम् सिमेन्टद्वारा सञ्चालित खानीमा चुनढुङ्गा उत्खनन् गर्ने क्रममा मापदण्डविपरित फालिएको ओभरबटमले खोला नै पुरेको पाईएको छ । मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरुसहित राजनीतिक दलका प्रतिनिधिहरुले गरेको अनुगमनमा खोला पुरेको पाईएको हो ।

मंगलबार मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित गरिएको अनुगमनमा खोला नै पुरिने गरी ओभरबटम फालिएको पाइएको गाउँपालिका अध्यक्ष स्यांतानले बताए । अनुगमन टोलीले खानीक्षेत्रबाट निस्किएको ओभरबटम सिधै खोलामा फाल्ने शिवम् सिमेन्टको गैरजिम्मेवार कार्य भएको र कारबाहीको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालेको छ ।

Advertisement:

पालिका अध्यक्ष स्यांतानले शिवम्ले फालेको ओभरबटमले खोला पुरेको विषयमा शिवम्लाई मापदण्डअनुसार सुरक्षित ठाउँमा डम्पिङ गरेर राख्न र रोयल्टी नियमअनुसार पालिकालाई बुझाउन ताकेता गरेको तथा ओभरबटम हटाउन एक महिनाको समय दिए पनि समय सकिँदासम्म नहटाएकाले पुनः अनुगमनमा आएको बताए । उनले ओभरबटमले वर्षामा तल्लो बस्तीमा क्षति पुग्ने हँुदा शिवम्ले नियमअनुसार व्यवस्थापन नगरे खानी नै बन्द गराउनुपर्ने अवस्था आउने बताए ।

उनले खानीक्षेत्रको स्थानीय सरकारलगायत जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले अनुगमन गरेर सचेत गराउँदा पनि शिवम्ले अटेर गर्दै आएको बताए । उनले शिवम्ले केन्द्रीय नीति देखाएर स्थानीय सरकारलाई अटेर गरेको भन्दै अब चुप लागेर नबस्ने र अब पनि अटेर गरे खानी प्रभावित स्थानीयहरुको साथ लिएर आन्दोलनमा उत्रनेसमेत अध्यक्ष स्यांतानले चेतावनी दिए ।

शिवम् सिमेन्टको लापरबाहीले मकवानपुरगढीको बस्ती, विद्यालय, खानेपानीलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएको वडा नम्बर ३ का अध्यक्ष भागवत् घिमिरेले बताए । ओभरबटमलाई शिवम् सिमेन्टले तत्काल व्यवस्थापन गर्नुपर्ने र ओभरबटम उठाउँदा करको दायरामा आए वा नआएको कडाइसाथ अनुगमन गर्नुपर्ने बताए । खानी अनुगमनको स्थलगत अवलोकनका क्रममा वडा नम्बर ७ का वडा सदस्य प्रतिमान रुम्बाले उद्योगसँग खानीबाट निस्किएको ओभरबटम व्यवस्थापन गर्नुपर्ने र भविष्यमा बस्तीलाई खतरा हुनसक्छ भनेर पटकपटक भन्दै आए पनि यस विषयमा सुनुवाइ नभएको भन्दै असन्तुष्टि ब्यक्त गरे । समस्या तत्काल समाधान गर्नुपर्ने उनको माग छ ।

कांग्रेस मकवानपुरगढी सभापति राजवीर मोक्तानले खानी उत्खनन् गर्दा व्यवस्थित नभएको पाइएकोले ओभरबटमलाई समयमै व्यवस्थित गर्न सकिएन भने यसले खानीभन्दा तल रहेका बस्ती खेतीयोग्य जमीनमा ठूलो असर गर्ने बताए । यसमा गाउँपालिका, स्थानीय, राजनीतिक दल, उद्योग, सरोकारवाला निकाय सबैले ध्यान दिनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका राजकुमार घिमिरेले अनुगमनका क्रममा शिवम्ले गरेको कार्य ज्यादति देखिएको बताए । ओभरबटमलाई सीधै खोलामा फालिएको र यसलाई स्जथानीय पालिका, प्रदेश वा संघले नियमन गर्नुपर्ने भन्दै उनले बस्ती जोखिममा रहेकाले जनतालाई वर्षामा बचाउन पहल गर्नुपर्नेमा जोड दिए ।

राप्रपा गाउँपालिका उपाध्यक्ष सुरेश गोलेले शिवम्ले लापरबाही गरेको भन्दै खोलामा फ्यालिएको ओभरबटम तुरुन्त हटाउनुपर्ने बताए । गाउँपालिका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले संघीय सरकारले स्वीकृत गरेर स्थानीय सरकारलाई जानकारीमात्र गराउने, स्रोतसाधन विनाश हुने, ओभरबटम गएर खोला बढ्ने, नोक्सान चाहीं स्थानीयरुपमा हुने, राजस्व भने खानी विभागले संकलन गर्ने, सङ्कलित रकमको ५० प्रतिशत् संघीय सरकार, २५ प्रतिशत् प्रदेशले राखेर २५ प्रतिशतमात्र स्थानीय सरकारले लिने गरेको बताए । केवल २५ प्रतिशत मात्र पाइने तर क्षति स्थानीय सरकारको बढी हुने अनि जोखिमजति सबै स्थानीय सरकारमा हुने परिपाटी रहेकोमा उनको चिन्ता छ ।

उद्योगलाई बारम्बार चिठी पठाउँदा पनि स्थानीय सरकारले के नै पो गर्नसक्छ र भन्ने मानसिकता राख्ने गरेको पाइएको भन्दै उनले यसलाई नियन्त्रण गर्न केन्द्र सरकारले नै बैकल्पिक व्यवस्था गर्नुपर्ने उपाध्यक्ष गोलेले बताए । राजस्व व्यवस्थित गर्न सकिएन भने विकास निर्माणमा पनि असर पर्ने उनको भनाइ छ ।

गाउँपालिका कानुन शाखा प्रमुख तथा अधिवक्ता रामशरण लामिछानेले शिवम्ले गैरकानुनीरुपमा फालेको ओभरबटम स्वयम् नियन्त्रण नगर्ने हो भने कानूनी बाटोमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । आफू पनि सोही क्षेत्रका स्थानीयबासी भएकाले वर्षामा सधैं जोखिममा पर्ने गरेको उनको दुःखेसो छ । शिवम्ले भने वर्षासम्ममा ओभरबटम हटाइसक्ने र अब व्यवस्थित गर्ने भन्दै आश्वासन बाँड्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application