निर्वाचन दिवस तथा प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रमूख आयुक्तद्वारा शुभकाना ब्यक्त

काठमाडौं, ७ फागुन / निर्वाचन दिवस तथा प्रजातन्त्र दिवस २०८० को उपलक्ष्यमा निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेशकुमार थपलियाले आममतदाता तथा देशबासीहरुमा शुभकामना ब्यक्त गरेका छन् । आठौं निर्वाचन दिवसको तथा फागुण ७ गते मनाईदै आएको प्रजातन्त्र दिवसको अवसरमा प्रमूख आयुक्त थपलियाले शुभकामना ब्यक्त गरेका हुन् ।

“निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता” भन्ने मुल नाराका साथ मनाउन लागिएको निर्वाचन दिवसमा शुभवकामना सन्देश सार्वजनिक गर्दै पूमूख आयुक्त थपलियाले निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न समस्त नेपाली दाजुभाई दिदी बहिनीहरुलाई आग्रह गरेका छन् । प्रजातन्त्र दिवस र संविधान दिवस एकै दिन परेको अवसरमा उनले प्रजातन्त्र दिवसको समेत शुभकामना सन्देश सार्वजनिक गरेका हुन् ।

Advertisement:

निर्वाचन दिवसका अवसरमा जारी शुभकामना सन्देशमा प्रमूख आयुक्त दिनेशकुमार थपलियाले भनेका छन्, ‘आज मिति २०८० साल फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र आठौं निर्वाचन दिवसको दिन हो । वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज हामी “निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता” भन्ने मूलनाराका साथ आठौं निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन गई रहेका छौं ।’

सन्देशमार्फत आयोगका प्रमूख आयुक्त थपलियाले यस गौरवमय अवसरमा आयोगलाई अगाडि बढ्न निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्दै आएका अग्रजहरूको सम्मान एवम् प्रशंसा गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मतदाताहरूलाई शुभकामनाका शब्दहरु ब्यक्त गरेका छन् । निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आममतादाताहरुलाई उनले आग्रह गरेका छन् ।

’स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै निर्वाचन आयोगले आफ्नो स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको जनाउँदै प्रमूख आयुक्त थपलियाले उक्त सन्देशमा भनेका छन्, ‘वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । आवधिक निर्वाचनद्वारा वालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ ।’

उनले सन्देशमा थपेका छन्, ‘निर्वाचनको माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन दिवसको अवसरमा म निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवम् निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगका प्रमख आयुक्त दिनेशकुमार थपलियाद्वारा जारी सन्देशमा अगाडि भनिएको छ, ‘वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो छ। यस विषयमा राजनीतिक दल, आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग सम्वेदनशील छ ।’

आयोगले एसियाली क्षेत्रलगायत विश्वका विभिन्न ४० देशका २ सय ५० प्रतिनिधिको सहभागिता रहेको “दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरहरूको सम्वोधन“ विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको छैठौ अन्तर्राष्ट्रिय सम्मेलन यही मंसिर २० र २१ गते सम्पन्न गरी २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको पनि बताएका छन् । उनकाअनुसार यस अवधिमा विभिन्न देशमा सम्पन्न भएका निर्वाचनको पर्यवेक्षणमा सहभागी हुनुका साथै निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाचन आयोगले सक्रीयतापूर्वक सहभागिता जनाउदै आएको छ । यसबाट अन्तर्राष्ट्रिय जगतमा आयोगको भूमिका, शाख र प्रतिष्ठा अभिवृद्धि हुँदै गएको महसुस भएको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनहरू “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएको पनि प्रखूख आयुक्त थपलियाले बताएका छन् । उनले आयोगका महत्वपूर्ण उपलब्धीका रुपमा आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधारको पहल, निर्वाचनका कृयाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार, निर्वाचन व्यवस्थापन एवम् नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने नतिजालाई लिएका छन् ।

निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनिहित चुनौतीहरूका साथै सुधारका मार्गहरू पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकार समक्ष पेश गरिसकिएको प्रमूख आयुक्त थपलियाले जानकारी दिएका छन् । निर्वाचनका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरी भएकोले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणकालागि स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि समेत अगाडि बढाइएको जानकारी पनि उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयङ्गम गर्दै स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर भएको बताएका छन् ।

संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवम् समावेशी भित्रको समावेशीता र लैङ्गिक सवालको सम्वोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील हुनुका साथै राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्ने कुरामा जोड दिईदै आएको र निर्वाचनका कृयाकलापमा सरोकारवालासँगको साझेदारी र सहकार्य, निर्वाचन विवाद निरूपणको प्रभावकारिता, निर्वाचनमा विद्युतीय मतदानको प्रयोग, निर्वाचन आचारसंहिताको व्यावहारिकता र भरपर्दो निगरानी प्रणालीको संस्थागत विकास, राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नियमन र पारदर्शिता आयोगको उच्च प्राथमिकतामा रहेका विषयहरू समेत उनले प्रष्ट पारेका छन् ।

आठौ निर्वाचन दिवस, २०८० सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रूपमा आफूहरुलाई प्रेरणा, हौसला र सहयोग प्रदान गर्ने सम्पूर्णमा अभार प्रकट गर्दै आठौं निर्वाचन दिवसको उपलक्ष्यमा आयोगबाट प्रकाशित निर्वाचन स्मारिकामा आफ्ना महत्वपूर्ण विचार सहित लेख रचना उपलब्ध गराउने लेखकहरूलाई धन्यवाद समेत उक्त सन्देशमार्फत दिईएको छ । प्रमूख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग र अन्तरगतका कार्यालयमा रही निर्वाचन व्यवस्थापनका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत एवम् सम्मानित हुने कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :