दुखपछिको सुख, सुल्टो अनि सर्वथा आनन्ददायी !

— राजन बिडारी

जीवनको उत्तराद्र्ध समयको सुख त अक्सर धेरैको रोजाइमा पर्नै पर्छ । तर सच्चिकै त्यस्तो अवस्था घटित हुने सौभाग्य भने कमैलाई मात्र प्राप्त हुन्छ । यसरी अन्तिम चरणमा आएर सन्तुष्टिको श्वास फेर्न सकिने गरी न्युनतम् रुपमा साङ्गोपाङ्गो मिलेको जीवन, जहाँ कम्तिमा आफ्नै बिगतसँग गुनासो राख्ने अवस्था नहोस् !

Advertisement:

राम्ररी होस सम्हालेदेखि कुनै पनि बिकारले छुनै नसक्ने गरी होस बोध अनि सजगतापूर्ण जीवन जिएरै अन्तिम क्षणतर्फ पदचाप बढाउन सक्नु त अत्यन्तै सौभाग्यशाली अवस्था भई नै गो । कथंकदाचित् आफ्नै लापरबाही वा भोगविलाश अनि अन्य बिकारजन्य अवस्थाबाट वसिभुत भई केही काल गुज्रे पनि पुन सम्हालिएर जीवनको अर्थ अनि महत्वको बोध गर्दै पुनः लय पक्डेर असल गति दिन सक्नु पनि चान्चुने कुरा पक्कै होईन ।

तर के चाहिँ सत्य हो भने, चाहे जे जसरी नै किन नहोस्, जीवनको पूर्वाद्र्ध अर्थपूर्ण एवं सार्थक किसिमले बितेकै हुनुपर्छ । नत्र यस खाले उपलब्धि/प्राप्ती सामान्यतः जो कोहीलाई सजिलै प्राप्त हुने स्थित नै बन्दैन ! त्यसैलाई मानव जीवनका ४ आयाम अर्थात् धर्म, अर्थ, काम अनि मोक्षलगायतका क्षेत्रमा एक हदसम्मको उपलब्धि, हासिल गरेको अवस्था भन्ने बुझिन्छ, सायद !

जानाजान वा परिस्थितिबवस धेरै दुख, हण्डर अनि ठक्कर खाएका सामान्यभन्दा फरक एवं चुनौतिले घेरिएको मार्ग रोजेकाहरुले नै जीवनको अन्तिम क्षणमा त्यसखाले अवस्थाको प्राप्त गर्न सक्छन् । ब्यक्ति, समाज र परिवार अनि हर पात्र तथा पदार्थलाई हेर्ने, बुझ्ने र पर्गेल्ने फरक तर विशाल सोच भएकाहरुको हकमा मात्र जीवन भोगाइ अक्सर सुल्टो हुने गर्छ । गर्नुपर्छ, गरे हुन्छ र गर्न सकिन्छ अर्थात् सम्भव छ, भन्ने दृढ बिश्वासीहरुले मात्र जीवनरुपी नाउलाई पार लगाउने हुन् ।

मानव जीवनको मुल स्वरुप अर्थात् दुखलाई स्वीकार गर्न सक्ने खालको क्षमता बोकेकाहरुले नै जीवन जित्ने हुन् । जीवन निर्वाहनका दौरान, आइपर्ने हर संघर्षलाई आत्मसाथ गर्दै जस्तो सुकै कठिनतम् परिस्थितिमा समेत आफूलाई सम्हालेर पार लगाउन सक्ने, शाहसीहरुलाई न हात लाग्ने हो । अन्तिम क्षणको त्यो सुखानुभूति ! घरको जग जस्तै मजबुत एवं गहिरो जीवन भोगाइ अनि अनुभूतिमार्फत निखारपन ल्याएकाहरु नै जीवनको उत्तराद्र्धमा सफल तथा सन्तोषपूर्ण जीवन बाच्दछ्न । समाजका लागि नमूना र आदर्शका पात्र बन्द्छन ।

थकानलाई पन्छाई कर्मरुपी पूजामा रमाउने अनि आफूलाई उपलब्ध भएको स्रोतको महत्वलाई भलिभाती बुझेकाहरु नै यस जगतरुपी नाउमा तैरिने हुन् । अन्यथा धेरै त डुबै कै छन् । स्वयंसँग सम्वाद र प्रतिस्पर्धा गर्ने, आफ्नो हीत–अहित हेरी पाइला चाल्ने, अक्सर मौन रही आवश्यकता जति मात्रै बोल्ने, सत्कर्म र निष्ठामा बिश्वास गर्ने, मौका मिलाई सेवा र परोपकारमा सदा अग्रसर रहनेले मात्र जित्ने हो दुनियाँ !

समयलाई बलवान् र भगवान मान्दै हर समय अर्थपूर्ण ब्यस्त मस्त अनि स्वयंको खोजका लागि समय ब्यतित् गरेकाहरुले नै अन्तिम क्षणमा आएर सुखानुभूतिको महशुस गर्ने हुन् । सहजै क्षमा माग्न र क्षमा गर्न जानेको÷सक्ने जीवनको लचकता र सीमिततालाई बोध गर्दै जगत सञ्चालक जुन कुनै शक्तिप्रति श्रद्धाभावका साथ कृतज्ञ रहने असल मनले नै पाउने हो अन्तिम आनन्द !

‘म यस धर्तीमा जन्म लिने सु–अवसर पाएको एक सुन्दर मानवका नाताले मलाई प्राप्त यस जीवन स्वयं आफ्ना लागि उपयोगी र अन्य बाँकीका लागि कल्याणकारी बनाउन हर सम्भव प्रयासरत रहने छु’ को वोध भएकाहरुले कोही कसैसँग कुनै गुनासो राख्ने छैनन् । जति पाएका छन् वस त्यत्ति मै गदगद् भै पूर्णतातर्फको यात्रा गर्ने छन् र मेरा कारणले कोही कसैलाई कष्ट र पीडा नहोस् भन्नेमा हमेशा सचेत रहन्छन् !

सायद, यसैलाई नै भनिन्छ अविस्मरणीय जीवनको उत्तराद्र्ध । जहाँ जीवनप्रति कुनै अहंकार नमिसिएको गौरव बोध हुन सकोस् । आफै र अन्य कसैप्रति कुनैखाले गुनासोभाव अनि अतृप्त कामना/वासना नरहोस् !
वालवालिकाको जयहोस ! सबैको सदा जयहोस !!
जय हो जीवन्त शिक्षा !!!
जय योग, जय जननी !

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application