विद्यालय आउजाउमै कठिन, बीचमै पढाई छाड्छन् दरबारका विद्यार्थी

हेटौंडा– मकवानपुरको बकैया–७ नम्बर वडाको दरबारमा कक्षा ४ सम्म मात्र पढाई हुन्छ । ५ कक्षा देखि माथि पढ्नको लागि करिब ६ किलोमिटर जंगलको बाटो पार गरी माटोकोरी आउजाउ गर्नुपर्छ । जंगलको कठिन अनि टाढाको बाटो विद्यालय आउजाउ गर्न समस्या भएपछि दरबारका विद्यार्थीले बीचमै पढाई छाड्ने गरेका छन् ।
बकैया गाउँपालिका वडा नम्बर ७ हर्दा स्थित माटोकोरी आधारभूत विद्यालयमा अध्ययन गर्न आइपुग्ने दरबारका विद्यार्थीले अनेक समस्याका बीच विद्यालय टाढा पर्दा विद्यालय आउनै छाड्ने गरेको विद्यालयले जनाएको छ । विद्यालय निकै टाढा भएको कारण ८ कक्षा पढ्दापढ्दै रसली स्याङ्तान, सिर्जना थिङ लगायत करिब ६ जनाले यसै वर्ष विद्यालय जानै छाडे । ६, ७, ८ मा अध्ययन गर्ने विद्यार्थी विद्यालय टाढा भएकै कारण विद्यालय छोड्न बाध्य छन् । विद्यालय आउजाउ गर्ने बाटो कठिन हुनुका साथै गाउँमा बिजुली सम्म पनि पुग्न सकेको छैन । कोहि बिरामी भए भने पनि अस्पताल सम्म ल्याउन निक्कै मुस्किल पर्ने अवस्था रहेको छ ।

कक्षा ५ मा पढ्ने स्वस्तिका रुम्बा न बोल्न सक्छिन् न सुन्न नै तर उनी निकै चलाख छिन् । उनी ३ किलोमिटर हिडेर विद्यालय पढ्न आउछिन् । बुवाले अर्कै श्रीमती लिएर हिँडे पछि आमा पनि अर्कै संग बिहे गरेर गइन् । अहिले हजुरबुवासंग बस्दै आएकी छिन् । बुवाआमा नै साथमा नभएको कारण स्वस्तिकाको जन्मदर्ता समेत बन्न सकेको छैन । उनी यो पुस माघको कठ्याङ्ग्रिँदो जाडोमा एउटा सर्टको भरमा विद्यालय आइपुग्छिन् । कहिलेकाहिँ त कापीकलम समेत साथमा ल्याएकी हुन्नन् । स्वस्तिका जस्ता बुवा आमा नहुने गरिब परिवारमा कापीकलम सम्म किन्न नसक्ने थुप्रै बालबालिकाहरु माटोकोरी विद्यालयमा पढ्न आउँछन् ।

Advertisement:

निम्न आयस्रोत भएका मानिसको बसोबास रहेको दरबारका अधिकांशलाई बिहान बेलुकाको छाक टार्नै धौधौ पर्ने अवस्था छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण पनि कतिपय ६, ७ मै पढाई छोडी घरायसी कामतिर लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक शिव बोलखेको भनाइ छ । कतिपय बालबालिका विद्यालयको पोसाक नै नभएको कारण बिना पोसाक नै विद्यालय आउने गरेको र उनीहरुको घर सम्म पुग्दा दयनीय नै अवस्था देखे पछि पोसाकसमेत अनिवार्य नगरिएको प्रधानाध्यापक बोलखे बताउँछन् । लगभग ९० जना बालबालिका त अर्काको घरमा बसेर पढ्ने गरेको उनले बताए ।
बकैया गाउँपालिकाबाट विद्यालयको व्यवस्थापनको लागि वर्षमा २० हजार बजेट छुट्याउने गरेको र त्यति बजेटले विद्यालयको सबै समस्या समाधान गर्नै मुस्किल पर्ने कारण बालबालिकाको लागि केही नयाँ गर्न बजेटले साथ नदिने बोलखेको भनाइ छ ।

माटोकोरी विद्यालयमा अहिले २ सय ५७ जना विद्यार्थी अध्ययन गर्ने गरेकोमा २ सय मात्र नियमित विद्यालय आउने गरेको र बाँकी मेलापात, गलैंचा बुन्न काठमाडौ जान बीचमा पढाई छोड्ने समेत गरेको उनले बताए ।
विद्यालयमा ६, ७, ८ मा कम्प्युटरको पढाई हुने गरेको बताएता पनि विद्यालयमा एउटा पनि कम्प्युटरको व्यवस्था भने गर्न नसकेको उनले बताए । बालबालिकालाई मनोरञ्जनको लागि खेल खेलाउन ठूलो चौर भएता पनी खेलकुदको कुनै सामाग्री र अध्ययनका लागि लाइब्रेरीसमेत छैन । सानो कक्षामा अध्ययन गर्ने बालबालिकाको लागि बालमैत्री बस्ने बेन्चको समेत व्यवस्था गर्न नसकेको कारण ठुला ठुला बेन्चमा अपठ्यारो गरी पढ्ने गरेका छन् । कक्षा ८ सम्म माटोकोरीमा पढे पश्चात् ९ कक्षा भर्ना हुन जान धेरै टाढा पर्ने कारण ८ कक्षा पढेर धेरैले पढाई छोड्ने गरेको समेत प्रधानाध्यापक बोलखेले बताए ।

१२ वटा वडा रहेको बकैया गाउँपालिकामा ७६ वटा विद्यालय छ जसमध्ये मावि १२ वटा र आधारभूत १० वटा रहेको छ।बाकी विद्यालयमा ३, ४ सम्म मात्र पढाई हुने गरेको छ भने केही विद्यालयमा बालबालिका टाढा जान नसक्ने भएको कारण इसिडी सम्म मात्रको लागि पनि विद्यालय संचालन गरिएको छ ।

प्रदेशसञ्चारबाट साभार

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application