११ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने
काठमाडौं / सगरमाथाको फेदीमा ११ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ। बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, केटु हिमालकेन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सीएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो। नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताए। ‘उताबाट बजेट आउनेबित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ’, उनले भने। यसका लागि नास्टले सीएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ।
यो प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सीएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो। सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प थियो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित प्रयोगशालाका लागि सन् २०१३ देखि बजेट आउन बन्द भएपछि यस अन्तर्गत हुने अध्ययन अनुसन्धानको गतिविधि ठप्प बनेको थियो। त्यसबेला सगरमाथाभन्दा केटु हिमाल अग्लो भन्ने भ्रम चिर्नकै लागि पनि विश्वकै उच्च हिमाली भेगमा प्रयोगशाला बनाएर रेकर्ड राखिएको थियो।
साथै नास्टको पहलमा सरकारले आफैँ स्वामित्व लिएर भविष्यका लागि समेत फलदायी हुने गरी पिरामिड प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको नास्ट सचिव ढकालले बताए। नयाँ सम्झौता अनुसार आगामी दिनमा अन्य मुलुकले पनि प्रयोगशालाका लागि आवश्यक बजेट दिन सक्ने छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

