चलचित्र उद्योगले दिएको चोटलाई कृषिले दियो उपचार

काठमाडौं, २८ माघ / चलचित्र निर्माण क्षेत्रमा सिंहे लामाको नामले परिचित ताक्पा तामाङले चलचित्र उद्योग छोडेर कृषि व्यवसायमा उत्रिएपछि चलचित्र उद्योगबाट पाएको आर्थिक चोटमा उपचार मिलेको महशुस गर्न थालेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय रसुवाद्वारा उत्कृष्ट कृषकको सम्मान पाएका तामाङले कृषि व्यवसायबाट आफूलाई राहत मिलेको महशुस गरेका हुन् ।

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको ५ नम्बर वडा चिलिमेमा एकल लगानीमा झण्डै २० रोपनी क्षेत्रफलको जमीनमा हाईब्रेड कुरिलो खेती गरी वार्षिक १० लाख रुपैयाभन्दा बढी आम्दानी गर्न थालेपछि चलचित्र उद्योगमा डुबेको आफ्नो लगानी कृषि व्यवासयले उठाईदिने आशामा उनी यतिबेला कृषि कर्ममा कृयाशील रहेका छन् । कुरिलो उत्पादन गरी बजार विस्तार गर्ने क्रममा यसको माग बढेपछि साझेदारीमा अरु ३० रोपनी क्षेत्रफलको जमीनमा समेत कुरिलोको व्यावसायिक खेती सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

Advertisement:

चलचित्र उद्योगमा अढाई करोडभन्दा बढी डुबाई सकेका रसुवाको चिलिमेका ताक्पा तामाङ जस्तोसुकै अवस्थामा पनि निराश नभई काम गर्नु पर्ने मान्यता राख्दै आएका छन् । कुरिलोसँगै टिम्मुर र कागती खेतीलाई पनि अगाडि बढाएका उनले छिटो उत्पादन लिन सकिने कुरिलो र दीगो केषि उत्पादन लिनका लागि कागती र टिम्मुर खेती गरेको जानकारी दिएका छन् ।

कुरिलो खेतीका लागि आवश्यक प्रविधिको विषयमा विभिन्न सामाजिक सञ्जालहरुद्वारा प्राप्त जानकारीबाट यो खेती अपनाउदै कुरिलोको व्यावसायिक उत्पादन शुरु गर्न थालेपछि बजारमा माग बढ्दै गएकोले चलचित्रकर्मी ताक्पा तामाङ चलचित्र उद्योगमा लगानी रोकेर कृषिमा थप्ने मनस्थितिमा पुगेको बताउँछन् । उनी भन्छन् ‘कुरिलो उत्पादन र उपभोगको बारेमा मैले इन्टरनेटहरुमा पाईने थुप्रै जानकारीहरु अध्ययन गरँे । त्यसबाट के पाएँ भने, एक पटक रोपेपछि स्याहार सुसार गर्ने हो भने पन्ध्र वीस बर्षसम्म आम्दानी लिन सकिन्छ । स्वास्थ्यलाई पनि यो धेरै लाभदायक हुने भएकोले उपभोक्ताले पनि कुरिलोको माग गरिरहेका छन् । त्यसैले अब यसैलाई म उद्योगको रुपमा विकास गर्छु ।’

पछिल्लो समयमा देशका ग्रामीण वस्तीका जमीनहरु बाँझो छोड्न थालिएको देखेका र सुनेका ताक्पा तामाङ दैनिक ४ हजारभन्दा बढी आम्दानी लिन आफू सफल भएकोले बाँझो छोडेर जमीन खेर फालिरहेका जग्गाधनीहरुलाई कुरिलो खेती गरी आर्थिक श्रोत निर्माण गर्न सुझाव दिन्छन् । रसुवा जस्तो पहाडी र हिमाली जिल्लामा कहिपनि नगरिएको कुरिलो खेती शुरु गरेर आफूले जिल्लाबासीहरुका माझ फरक कृषकको पहिचान बनाउन चाहेकाले कुरिलो कै खेती शुरु गरेको उनी बताउँछन् ।

आफ्नो आर्थिक अवस्थामा सुधार आएपछि पुन चलचित्र निर्माणलाई निरन्तरता दिने सोचमा आफू रहेको पनि उनको भनाई छ । चलचित्रकर्मी तामाङ आफूसँग दुई वटा चलचित्रका लागि पटकथा समेत रहेको र यदि भरपर्दो लगानीकर्ता पाए ती चलचित्र निर्माण गरी नेपाली चलचित्र उद्योगमा टेवा पुर्याउन आफू अग्रसर रहने पनि उनको धारणा रहेको छ । दर्शकहरुमाझ लोकप्रिय बन्न सफल ‘जात्रा’ नामक चलचित्रको निर्माता र चलचित्रहरुमा आर्ट डाईरेक्टरको भूमिकामा काम गर्दै आएका तामाङ कोविड १९ महामारीको कारणले चलचित्र निर्माणका गतिविधि अवरुद्ध भएसँगै आफू कृषि उत्पादन कृयाकलापमा जोडिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application