क्याश नबोक्नु मेरो गल्ती हो र ?

— केशब सापकोटा

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिएँ । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन ।

मङ्गलबार भने कार्यालय निस्कने वित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरीघाट गएँ । लाइसेन्स रिन्यू गर्ने स्थानमा अन्य समयको भन्दा भिड थिएन । भर्खर १० बजेकोले होला । कोठा नं. ३ मा गएर सोधे–‘लाइसेन्स रिन्यू गर्नुपर्ने थियो ।’ कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कल सहित जानु भने ।

Advertisement:

२ जनापछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरी ३ नम्बर कोठामा जानु पर्ने बताए । पहिले नै ३ नम्बर कोठामा गएको फेरी गएँ । हाकिम साब हिटर ताप्दै बस्नु भएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नं.बाट पठाइदिनु भएको ।’ उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै आठ नम्बर कोठामा जान भन्नु भो ।

आठ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रुपैंयाको रसिद काटेर लाइन बसे । ४, ५ जनापछि पालो आईहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दुरीबाट अङ्ग्रेजी सिम्बोलहरु हेर्न लगाइयो । सबै मिलाएँ । त्यसपछि कोठाभित्र गएर केही अङ्कहरु पढें । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएन । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने ।

‘सर, भर्खर त्यहीँ बाट आएको’ मैले भने । मेरो रेकर्ड नदेखिएकोले पुनः ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु भयो । मेरो मनमा चिसो पस्यो । केही दिन अगाडी मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा १ लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानविनमा त परेन ! त, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिए । त्यसको भिडियो पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरी ३ नं. कोठाकै हाकिमकोमा गएँ ।

‘सर, ८ नम्बरबाट फेरी यहीँ पठाउनु भयो ।’ हाकिमका अगाडी पर्दै मैले भने । उहाँले नागरिकता देखाउनुस भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइँन् । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला !’ मैले आफ्नो समस्या भने । ‘नागरिकता चाहिन्छ ।’ उहाँले भन्नु भयो । ‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ ?’ हाकिमसावले भन्नु भयो । हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस’ साइन गर्दै भने ।
‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नं. कोठातिर कुदेँ ।

एक जना सेवाग्राहीको कागजात इन्ट्रि हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बुढानिलकण्ठ नगरपालिकामा काम गर्ने २ जना (महिला–पुरुष) कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस् त’ भन्दै भने–‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नी सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडी गरे ।

‘उनको पछि मेरै पालो आउने हो’ भन्दै खासै प्रतिवाद गरिन । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दा चैं रिस उठेको थियो । रिस खाई आफु बुद्धि खाई अरु भन्थे । मौन नै बसे । ४ मिनेट तिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले विर्सिएँ, त्यहाँ जानु भने । राजश्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिएँ । कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’ ‘हँ, चार हजार, कसरी ?’ मैले सोधँे । ‘तपाईंको रिन्यू फेल छ, डबल जरिवाना पर्यो ।’ म लाचार भएँ ।

समस्या यहाँनिर आइपर्यो । म सँग २ हजार, २५ सय जति क्यास थियो । ‘क्याश पूग्दैन, क्यूआर दिनुन’ मैले भने । म प्रायः पैसाको कारोबार मोवाइल बैकिङ, अनलाइन, एटिएम वा क्यूआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिले काँही यस्तै समस्यामा पर्छु । ‘क्यूआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्याश नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्याशै पुगेन यता एटिएम होला ?’ मैले सोधे । ‘एटिएम छैन तपाई तल जानुस् त्यहाँ पसल (बिचौलिया) हरुमा ट्रान्सफर गरिदिनु उनीहरुले क्याश दिन्छन् ।’ उनले सुझाइन् ।

हतार हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (विचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाएँ ।
‘दुई हजार, चार्ज २ सय लाग्छ ।’ जवाफ आयो । ‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २ सय यो त अत्ति भएन ! ८ रुपैंयाको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ !’ आश्चर्य लाग्दै प्रश्न गरँे ।

२ सय दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटीएम थिएन, मलाई हतार थियो । बाध्यतामा परें । आफ्नो एकाउन्टबाट उसको एकाउन्समा २ हजार हालिदिए । २ सय क्याश दिए । युवतीले २ वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लूटतन्त्र नै रहेछ नी’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन । दगुर्दै राजश्व तिर्ने झ्यालतिर गएँ । ४ हजार दिएपछि पैसा बुझाएको रसिद पाइयो ।
तपाईको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ ।

‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधें । ‘एक वर्षपछि’ मतिर नहेरी जवाफ दिइन् । सोधिहालें, ‘त्यतिञ्जेल के गर्ने ?’ पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यू गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ । सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौं लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यू गरेकाले त्यस भित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन ।

यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो ‘दाई लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भने, ‘भो भाई पर्दैन, म कुरेरै लिउँला ।’

मेरो गल्ती, या अपराध !

समयमै लाइसेन्स रिन्यू गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यू नगर्दा डबल फाइनमा पर्नु । केही सरकारी तथा अधिकांश निजी कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन) बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्याश पैसा नलिइकन जानु । यातायात व्यवस्था कार्यालयको गल्ति या कमजोरी, क्याशलेस (क्यूआर, एटिएम, अनलाइन) सेवा सञ्चालन नगर्नु, कार्यालय परिसरमै बिचौलियालाई ठाउँ दिनु ।

सरकारले जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने हो भने, प्रविधि मैत्री हुनुपर्ने हो । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएको हो । हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलो कार्य हैन । तर, यसो गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले बिचौलियाबाट दैनिक पाउने खान्की गुम्दो चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले रोकिरहेको हो ?

पछिल्लो समय क्याशलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्यो । निजी कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्याशलेस छ । तरकारी किन्न जाँदा होस् वा लुगाकपडा किन्न जाँदा मोवाइल, एटिएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्म की कपाल काट्ने सैलुनमा, सार्वजनिक शौचालयमा समेत क्यूआरबाट पैसा तिर्न सकिन्छ । क्याशलेसको अर्काे फाइदा तपाइले कुनै पनि सेवा र वस्तुको जति मुल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १ सय २० रुपैया ५० पैसाको सामान किन्नु भयो भने तपाईले मोबाइल बैकिङ वा कार्ड स्वाएपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ ।

तर, नगद कारोबार गर्दा १ सय २० रुपैया ५० पैसा दिन सकिन्न । आजभोली ५० पैसा हैन ५ रूपैंयाभन्दा तलको नोट नै पाइन्न । यस्तोमा तपाईले कि १ सय २० मा सामान वा सेवा पाउनु पर्याे या तपाईले ५ रूपैंया बढि तिर्नु पर्याे । अँ, किराना पसलमा चकलेट छ भने २, ४ वटा पाउनु हुन्छ १ सय २५ रूपैंया तिरेपछि । भन्नेले जावो ५–१० रूपैंयाको कुरा भन्लान्, तर, हरेक सेवाग्राहीबाट ५–१० रूपैंया बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पो प्रोत्साहन गरिरहेका छौं कि !

जनतालाई सहजरूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा सुशासन कायम हुन्छ । बिचौलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिकको विश्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मष्तिस्कमा किन नघुसेको होला ! यो चेत यातायात व्यवस्था कार्यालयमा मात्र हैन राज्यका हरेक निकायमा कहिले पुग्ला !

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application