मकवानपुरमा ६ महिनामा १ करोड १६ लाख राजस्व संकलन

मञ्जिता मैनाली

हेटौंडा– मकवानपुरमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने करिब १६ हजार वटा सवारी कारबाहीमा परेका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा १५ हजार ८ सय ५९ सवारी साधन कारबाहीमा परेकोमा सबैभन्दा बढी मोटरसाइकल र जीप÷कार रहेका छन् । यस अवधिमा ३ हजार ४ सय ९४ वटा ट्रक कारबाहीमा परेका छन् भने १ हजार ४० ट्याङ्कर/ टिपर, ३ हजार ७ सय १७ जिप/कारलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । यसरीगरी ६ महिनाको अवधिमा ४ हजार ७ सय ५० मोटरसाइकल, २ सय ९४ ट्याक्टर, २ हजार ५ सय ६४ टेम्पो अटो इरिक्सा कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कारबाहीमा परेका सवारीबाट ट्राफिक प्रहरीले उल्लेख्य राजस्वसमेत संकलन गरेको छ । चालु आवदेखि इसेवामार्फत जरिवाना रकम असुल सुरु गरी पारदर्शिता प्रवद्र्धन गरेको मकवानपुर ट्राफिकले ६ महिनामा १ करोड १६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । इसेवामार्फत रकम भुक्तानीका लागि चिट काटिदिँदा कतिपय सवारीहरु पछि सम्पर्कमै नआउने कारण राजस्व संकलन केही प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रमुख वसन्त आचार्यको भनाइ छ ।
बितेका आर्थिक वर्षहरुमा पनि मकवानपुरमा उल्लेख्य मात्रामा सवारी कारबाही र जरिवाना रकम संकलन हुने गरेको थियो । आर्थिक वर्ष ०७७/०७८ मा ३२ हजार २ सय ३० सवारी कारबाहीबाट २ करोड ७१ लाख ६ हजार ५ सय राजस्व संकलन भएको थियो । त्यस्तै ०७८/०७९ मा ३० हजार ३ सय २७ सवारी कारबाहीमा परेको थियो भने २ करोड ३६ लाख ९० हजार ५ सय राजस्व संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७९/८० मा ४७ हजार ८ सय ९९ सवारी कारबाहीमा परेकोमा ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन भएको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application