३३ किलो सुन प्रकरण: सिआइबी प्रमुख, राजस्वका महानिर्देशक र गोरेसँग छुट्टाछुट्टै बयान
तातोखबर, काठमाडौँ / सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी रहेको छ।
पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र मातहतका अधिकारी तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’सँग पनि बयान लिएको छ।
आयोगले उनीहरूसँग छुट्टाछुट्टै भेटेर बयान लिएको जनाइएको छ। आयोगका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट झिकाएर चूडामणि उप्रेती ‘गोरे’सँग बयान लिइएको हो ।
यस्तै सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका महानिर्देशन नवराज ढुंगानासँग पनि बयान लिएको छ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख ढुंगानासहितका कर्मचारीसँग बयान लिइएको आयोगका एक सदस्यले जानकारी दिए।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याइएको सुन गएको साउन २ गते विभागले बरामद गरेको थियो।
त्यसपछि उक्त सुन प्रकरणको अनुसन्धान सिआइबीले गरेको थियो। त्यसैले आयोगले सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य र अनुसन्धानमा संलग्न प्रहरीलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको हो।
तस्करले ६० किलो सुन हङकङबाट र ९ किलो सुन दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर काठमाडौँमा ल्याएका थिए। ६१ किलो सुनको अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले सोधपुछ गरेका जनाएको छ।
यसअघि आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरेका छन्। जाँचबुझ आयोगले यसअघि आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो।
सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । तीन महिनाको अवधिमा काम नसकिएपछि समितिको म्याद पुनः थप भएको छ।
हालसम्म आयोगले ३० विज्ञसँग परामर्श गरेको छ भने सुनचाँदी व्यवसायीका १८ प्रतिनिधि, राष्ट्र बैंकसहित विभिन्न संस्थाका ८ जना व्यक्तिसँग छलफल गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

